काठमाडौं – फागुन २ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘दुखी आत्मा’को चर्चा बढेको छ । श्रवण मुकारुङद्वारा रचित १० वटा कविता यस चलचित्रमा समावेश गरिएका छन् र तीमध्ये पहिलो कविता भिडियो ‘ब्रेकअप कविता’ सार्वजनिक भइसकेको छ ।
भिडियोमा अभिनेता दयाहाङ राईले अभिनेत्री आँचल शर्मालाई ‘ब्रेकअप कविता’ सुनाइरहेको दृश्यले दर्शकलाई आकर्षित गरेको छ । कविताको भावुक शब्द र दयाहाङको मार्मिक वाचनले चलचित्रप्रतिको चासो झनै बढाएको छ । यसले चलचित्रमा दयाहाङले कविको भूमिका निर्वाह गरेको हुन सक्ने अनुमान पनि लगाएको छ ।
‘माया, तिमी यसलाई एक घटना सम्झ । बिन्ती यसलाई दुर्घटना नसम्झ । सम्झ सायद, यसरी छुट्नु नै भएको थियो भेट हाम्रो ।’ यी शब्दहरूले दर्शकको मन छोएको छ ।
क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई हिमाल कडरियाले निर्माण गरेका हुन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको यो चलचित्र एडल्ट ड्रामाको रूपमा वर्णन गरिएको छ ।यसमा अन्य कलाकार: अनुप विक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले लगायतको अभिनय रहेको छ । आलोक शुक्लाको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
भिडियो: