काठमाडौं – भुटानी शरणार्थीको कथा र संघर्षलाई पर्दामा उतारेको नेपाली चलचित्र ‘हिउँको गीत’ अमेरिकामा छायांकन सम्पन्न भएको छ । वर्षा राउत र जोयस पाण्डेको मुख्य भूमिका रहेको यस चलचित्रले भुटान, नेपाल र अमेरिकामा बसोबास गर्ने भुटानी मूलका मानिसहरूको जीवनका उतारचढावलाई मार्मिक ढंगले चित्रण गरेको बताइएको छ ।
चलचित्रले एउटै परिवारका फरक पुस्ताका सदस्यहरूको जीवन कथामार्फत समग्र भुटानी समुदायको संघर्षलाई उजागर गरेको छ । भुटानबाट विस्थापित भएर नेपालको शरणार्थी शिविर हुँदै अमेरिका पुगेका यी पात्रहरूले आफ्नो देश छोड्न बाध्य भएको पीडा, नयाँ देशमा अनुकूलन हुनको लागि गरेको संघर्ष र पहिचानको खोजी जस्ता विषयलाई पर्दामा उतारेको छ ।
निर्देशक विमल सुवेदीले यसअघि यही कथामा आधारित नाटकलाई भारतमा प्रस्तुत गरेका थिए र त्यसबाट तीनवटा मेटा अवार्ड जितेका थिए । अब यसलाई चलचित्रको रूपमा निर्माण गरेर उनले भुटानी समुदायको कथालाई विश्वव्यापी दर्शकसम्म पुर्याउने प्रयास गरेका छन् ।
यो चलचित्रमा नेपाल, भुटान, ताइवान, चीन, मेक्सिको लगायतका देशका फिल्मकर्मीहरूको सहभागिता रहेको छ । यसले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । चलचित्रलाई नेपाली र अंग्रेजी दुवै भाषामा निर्माण गरिएको छ ।