काठमाडौं – कलरिस्टबाट निर्देशक बनेका जुनिम गहतराजको नयाँ थ्रिलर चलचित्र ‘ताण्डवम्’ आगामी फागुन ९ गते रिलिज हुने भएको छ । मङ्गलवार यसको यसको फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ ।
चलचित्रको कथा एक नव विवाहित जोडीको जीवनमा आइपर्ने अप्रत्याशित घटनाहरू वरिपरि घुमेको बताइएको छ । पारिवारिक तथा एक्सन थ्रिलर जनरामा बनेको यस चलचित्रमा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अङ्कित खड्का, अनोज पाण्डे, कमल कार्की, गोपाल कटुवाल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
सिंहदेवी प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको चलचित्रमा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको सङ्गीत र कोविद बज्रको ब्याकग्राउण्ड म्युजिक रहेको छ । फिल्मको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।
निर्देशक गहतराजले ‘पानी फोटो’, ‘पशुपति प्रसाद २ : भष्मे डन’, ‘खुस्मा’, ‘चिसो मान्छे’ र ‘परस्त्री’ लगायतका दर्जन बढी फिल्ममा कलरिस्टको रूपमा काम गरिसकेका छन् । ‘ताण्डवम्’ उनको पहिलो निर्देशन हो ।