काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आएका ९७ जना चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले विशेष सम्मान स्वरूप परिचयपत्र प्रदान गरेको छ । सोमवार आयोजित एक विशेष कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्रकर्मीहरूलाई परिचयपत्र हस्तान्तरण गरे ।
यो परिचयपत्रले चलचित्रकर्मीहरूको पेसागत पहिचानलाई औपचारिक मान्यता दिनेछ । यसका साथै, उनीहरूलाई विभिन्न सरकारी सेवा तथा सुविधामा सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ । यसले चलचित्रकर्मीहरूको डाटाबेस निर्माण गर्न सहयोग पुर्याउने र चलचित्र उद्योगको व्यवस्थापनलाई व्यवस्थित बनाउने विश्वास गरिएको छ ।
बोर्डले प्रत्येक वर्ष विशिष्ट चलचित्रकर्मी, चलचित्रकर्मी, विशेष चलचित्रकर्मी र मानार्थ चलचित्रकर्मी शीर्षकमा परिचयपत्र प्रदान गर्छ । परिचयपत्र प्राप्त गर्नका लागि चलचित्रकर्मीहरूले बोर्डले आवेदन खुलाएको समयमा आवेदन दिनुपर्ने हुन्छ ।
परिचयपत्र प्राप्त गरेका चलचित्रकर्मीहरूले यसलाई आफ्नो पेसागत जीवनको लागि महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् ।