काठमाडौं – आगामी फागुन २ गते रिलिज हुने नेपाली चलचित्र ‘रङ्गी’को पहिलो गीत ‘छ भने माया’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको यो गीतमा कलाकारहरूको अभिनय र सङ्गीत आकर्षक रहेको छ ।
आनन्द कार्की र सुजता केसीको स्वरमा रहेको यो गीतमा दुर्गेश थापाको शब्द, सङ्गीत र एरेन्जले गीतलाई अझै आकर्षक बनाएको छ । गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरू सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, विशाल पहारी र उत्तम केसीलाई फिचर्ड गरिएको छ । विशेष गरी सलोन र नम्रताको जोडीले गीतमा निकै राम्रो केमेस्ट्री देखाएका छन् । कविराज गहतराजको कोरियोग्राफीमा तयार पारिएको यो डान्सिङ नम्बरले मायाको मिठासलाई दर्शकसम्म पुर्याउने प्रयास गरेको छ ।
गीत रिलिजको अवसरमा सङ्गीतकार दुर्गेश थापाले यो गीतमा आफूले १० वर्ष अघिको मेलोडीलाई समेटेको बताए । उनले आनन्द कार्की जस्तो अनुभवी गायकलाई आफ्नो सिर्जनामा समावेश गर्न पाउँदा निकै खुसी लागेको बताए ।
गायक आनन्द कार्कीले दुर्गेशको शब्द र सङ्गीतमा गाउन पाउँदा आफ्नो चाहना पूरा भएको बताए भने गायिका सुजता केसीले यस्तो सुन्दर गीतमा स्वर दिन पाउँदा आभारी रहेको बताइन् ।
चलचित्रका प्रस्तुत कर्ता तथा नायक सलोन बस्नेतले अस्ट्रेलियामा रहँदा यो गीत सुनेर निकै प्रभावित भएको बताए । उनले यस्तो राम्रो गीत दर्शकलाई पस्कन पाउँदा खुसी लागेको बताए ।
निर्देशक सुरेश न्यौपानेले ‘रङ्गी’ आफ्नो र सलोनको सपनाको उपज भएको बताउँदै दर्शकले यो चलचित्रमा हाँसो, रोदन र सामाजिक सन्देशको मिश्रण पाउने बताए ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको यो चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारी लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रलाई सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमले निर्माण गरेका हुन् ।
भिडियो: