काठमाडौं – गायक तथा अभिनेता प्रकाश सपुतले निर्देशन गरेको नेपाली चलचित्र ‘वसन्त’को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक गरिएको छ । आगामी चैत २२ गतेबाट प्रदर्शन हुने यस चलचित्रको गीतले दर्शकलाई ग्रामीण परिवेशको मनमोहक झलक दिएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको यस गीतमा सपुत आफैँ र गायिका शान्ति श्री परियारको स्वर सुन्न सकिन्छ । सपुतकै शब्द तथा सङ्गीत रहेको गीतमा मौसम हिमालीको कोरियोग्राफी र प्रवीण भट्टको सम्पादन रहेको छ ।
गीतको भिडियोमा सपुतले आफ्नो जन्मथलो बागलुङको यानिमाया, सालैजो र घाँस दाउरा जस्ता स्थानीय संस्कृति र परम्पराहरूलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन् । भिडियोमा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी र खड्क बहादुर पुन (खबपु) जस्ता कलाकारहरू फिचर्ड छन् ।
‘वसन्त’ चलचित्रले विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र सङ्घर्षको कथा प्रस्तुत गर्दछ। सपुतले यस चलचित्रमा कथा, पटकथा र सङ्गीत पनि आफैँ तयार पारेका छन् । बागलुङ, काठमाडौं र तराईका विभिन्न स्थानमा छायाङ्कन गरिएको यस चलचित्रमा अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।
निर्देशक सपुतले ‘वसन्त’ निर्माणमा आफ्नो टिमले निकै मेहनत गरेको बताउँदै दर्शकले यस चलचित्रलाई मन पराउनेमा विश्वस्त छन् ।
भिडियो: