काठमाडौं – नेपाली चलचित्र ‘तेल भिसा’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ । मङ्सिर ७ गतेबाट देशभर प्रदर्शनमा आएको यस चलचित्रले शनिवार ५१ दिन पुरा गरेको हो ।
चलचित्र वितरक करण श्रेष्ठका अनुसार ‘तेल भिसा’ हाल १२ वटा सिनेमा हलमा प्रदर्शन भइरहेको छ । दक्षिण भारतीय चलचित्र ‘पुष्पा २’ को व्यापक प्रभावका बाबजुद पनि ‘तेल भिसा’ले पाँचौँ हप्तासम्म आइपुगेको हो ।यो क्यूएफएक्स, एफक्यूब, रञ्जना सिनेप्लेक्स, बीएसआर मुभिज, वान सिनेमाज, डीम्याक्स सिनेमाज, फ्रेन्डस सिनेमाज, सिने रोयललगायतका मल्टिप्लेक्समा प्रदर्शन भइरहेको छ ।
चलचित्रकी प्रस्तुत कर्ता ऋचा घिमिरेले दर्शक र शुभचिन्तकहरूलाई धन्यवाद दिँदै खुसी व्यक्त गरेकी छन् । उनले विभिन्न बाधा अड्चनका बाबजुद चलचित्रले यति लामो समयसम्म दर्शकको मन जित्न सफल भएकोमा आफूहरू गौरवान्वित भएको बताएकी छन् ।
‘तेल भिसा’ एक पारिवारिक कथामा आधारित चलचित्र हो जसले बिदेसिएका नेपालीहरूको जीवन र उनीहरूको परिवारमा पर्ने प्रभावलाई चित्रण गर्दछ । चलचित्रमा अभिनेता विपिन कार्कीले बाबु र छोराको दोहोरो भूमिका निभाएका छन् । वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेतीलगायतका कलाकारहरूको अभिनय रहेको यस चलचित्रलाई शङ्कर घिमिरेले लेखन र निर्देशन गरेका हुन् ।
अनिल पाण्डे र शिवराज कार्कीले चलचित्रमा लगानी गरेका छन् भने प्रिन्स युवराज कार्की र श्रुति दाहाल कार्यकारी निर्माता हुन् ।