काठमाडौंमा चिनियाँ चलचित्र दिवस मनाइयो



काठमाडौं – नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदानलाई थप प्रगाढ बनाउने उद्देश्यले बिहीबार काठमाडौंमा पहिलो चिनियाँ चलचित्र दिवस मनाइएको छ । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा भएको यस कार्यक्रममा दुवै देशका फिल्मकर्मी, कलाकार र चलचित्र प्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रहँदै पूर्व अर्थमन्त्री वर्षमान पुनले यस कार्यक्रमले नेपाल र चीनबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे । उनले भने, “यो सांस्कृतिक सम्बन्धको उत्सव हो । यसले हामी दुई देशका फिल्ममार्फत सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत मिल्ने विश्वास लिएको छु ।”

नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले यस कार्यक्रमले नेपाली फिल्म क्षेत्रमा अर्को सम्भावनाको ढोका खोलेको बताए । उनले भने, “नेपाल र चीनबीच सहकार्यको समृद्ध इतिहास छ र यस्तो कार्यक्रमले चलचित्रमार्फत आगामी सम्बन्धलाई अगाडि बढाउने एउटा महत्त्वपूर्ण कदम पनि हो ।”

चाइना फिल्म एडमिस्ट्रेसनका अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङले नेपाल एउटा सुन्दर देश र प्राचीन सभ्यता भएको देश रहेको बताए । उनले भने, “हामी आशा गर्छौ कि यस चलचित्र महोत्सवबाट चीन र नेपालबीचको चलचित्र क्षेत्रमा हुने उपयोगको सहकार्यमा अझ राम्रो सम्बन्ध बन्दै जानेछ ।”

चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ जिनले हालैका वर्षमा चिनियाँ फिल्मको लागि विश्वको ठूलो बजार बनेको र नेपालमा समेत चिनियाँ चलचित्रको छायाङ्कन भइरहेको बताए । उनले नेपाल र चीनबीचको कूटनीतिक सम्बन्धको ६०औँ वर्षगाँठ र नेपाल पर्यटन वर्षलाई मध्यनजर गर्दै यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा यीहुई साओ निर्देशित ‘हर स्टोरी’, युडी झाङ निर्देशित ‘मिडसमर्स भ्वाइस’ र फेई लङ निर्देशित ‘जी फर ग्याप’ गरी तीन वटा चिनियाँ फिल्म प्रदर्शन गरिएको थियो । विशेष गरी, ‘जी फर ग्याप’ फिल्ममा आफ्नो अभिनयले दर्शकमाझ लोकप्रियता कमाएकी गोल्डेन रुस्टर अवार्ड विजेता अभिनेत्री यु होङको उपस्थितिले कार्यक्रमलाई थप विशेष बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu