थाहा चलचित्र महोत्सवले पर्यटन र चलचित्र जोड्दै



मकवानपुर – मकवानपुरको थाहा नगरपालिकामा पुस २८ देखि माघ १ गतेसम्म दोस्रो थाहा फिल्म फेस्टिभल आयोजना हुने भएको छ । यस महोत्सवमा विभिन्न विधाका २० वटा उत्कृष्ट चलचित्र प्रदर्शन हुने आयोजक थाहा कला केन्द्रले जनाएको छ ।

‘पर्यटनका लागि चलचित्र’ नाराका साथ आयोजना हुने महोत्सवले चलचित्रमार्फत आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । छायाङ्कनका लागि उपयुक्त स्थानका रूपमा परिचित थाहा नगरपालिकालाई यस महोत्सवले थप प्रचारप्रसार गर्ने अपेक्षा गरिएको छ ।

काठमाडौं र हेटौँडाजस्ता सहरको नजिकै भए पनि थाहा नगरपालिकामा हालसम्म कुनै सिनेमा हल नभएकाले स्थानीयवासीले नयाँ र उत्कृष्ट नेपाली फिल्म हेर्नबाट वञ्चित हुँदै आएका छन् । यस महोत्सवले उनीहरूलाई आफ्नै गाउँ ठाउँमा गुणस्तरीय फिल्म हेर्ने अवसर प्रदान गर्नेछ ।

महोत्सवमा चलचित्र प्रदर्शनीका साथै समीक्षा, नेपाली सिनेमाको विविधता लगायतका विषयमा अन्तरक्रियात्मक कार्यक्रमहरू पनि आयोजना गरिने छ । महोत्सवमा ‘पखेटा’, ‘टुल्की’, ‘बाटो’, ‘लाखे’, ‘सतीदेवी’, ‘मोदिवेनी’ लगायतका फिचर फिल्म र लघु चलचित्रतर्फ ‘बेली’, ‘अन्तरवार्ता’, ‘द रोप अफ होप’, ‘निर्देश’, ‘दुई सय रुपैयाँ’, ‘खिल’ लगायतका चलचित्र प्रदर्शन हुनेछन् । यस्तै, डकुमेन्ट्रीतर्फ ‘हिउँ चितुवा’, ‘गर्ल्स रिराइटिङ डेस्टिनी’ लगायत रहेका छन् । 

महोत्सव संयोजक प्रमोदकृष्ण जोशीले फिल्म हेर्ने बहानामा आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्नु यस महोत्सवको मुख्य उद्देश्य रहेको बताए । उनले भने, “हामी चाहन्छौँ कि फिल्ममार्फत थाहा नगरपालिकाको सुन्दरतालाई देशभरका दर्शकसम्म पुर्‍याउन सकियोस् ।”

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu