काठमाडौं – नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार हरिवंश आचार्यको नयाँ चलचित्र ‘भूठान’ वैशाख १२ गते रिलिज हुने भएको छ । ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ नामले पनि चिनिने यो चलचित्रले भुटानी शरणार्थीको जीवन र सङ्घर्षलाई पर्दामा उतारेको छ ।
चलचित्रमा हरिवंश आचार्यसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, जोयस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी र हलिउडका चर्चित अभिनेता ब्रुस डर्नले पनि अभिनय गरेका छन् । यो चलचित्रलाई विनोद पौडेलले निर्देशन गरेका हुन् । पौडेलले सन् २०१९ मा निर्देशन गरेको ‘बुलबुल’ चलचित्रले ९२ औं अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व गरेको थियो । सोही चलचित्रबाट नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका विनोद पौडेलको यो दोस्रो चलचित्र हो ।
‘भूठान’ चलचित्र भुटानदेखि भारत, नेपाल हुँदै अमेरिकामा बसोबास गरिरहेका भुटानीहरूको देश प्रेम तथा आफ्नो थातथलो छोड्न पर्दाको कथा र आफ्नो जराको खोजको कथामा केन्द्रित रहेको बताइएको छ । चलचित्रको सम्पूर्ण छायाङ्कन अमेरिकामा गरिएको हो ।
निर्देशक पौडेलका अनुसार यो चलचित्र संसारभरका दर्शकको लागि बनाएको र विश्वको जुनसुकै कुनाको जोसुकैले हेर्दा पनि कथाको भाव र गहिराई महसुस गर्नेमा आफू विश्वस्त रहेको बताउँछन् । निर्माता मध्येका एक अविरल थापाका अनुसार यस चलचित्रमा हरिवंश आचार्यको अहिलेसम्म कतै नदेखिएको विल्कुल नयाँ अवतार र अदभूत अभिनय देख्न पाइनेछ ।
यो चलचित्रलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेस्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो । चलचित्रका प्रमुख निर्माताहरूमा राजेन्द्र ठकुराठी, अमिताभ जोशी, अविरल थापा, सुशांक मैनाली र किर्तना बाँस्कोटा छन् । साथै कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, एलएन अधिकारी, कौशिला खनाल कर्माचार्य, रमेश भट्ट, अपार श्रेष्ठ, भुवन प्याकुरेल छन् भने सह निर्मातामा जोयस पाण्डे, प्रदीप शर्मा (बडाईं) र नवराज पराजुली छन् । यसका अलावा दिपक गजमेर लाईन प्रड्युसर र एसोसियट प्रड्युसरमा एली बोहरा रहेका छन् ।
चलचित्रमा सुसन प्रजापतिको छायाङ्कन, अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनि, सूर्य शाहीको कास्टिङ्ग, उज्ज्वल श्रेष्ठको पब्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहनेछ । किर्तना बाँस्कोटा, एलि वोहोरा, विशाल डोटेल र समुन्द्र राज घिमिरेले निर्देशनमा सहयोग गरेका छन् ।
यो चलचित्र हलिउडको साग अफट्रा अन्तर्गत बनेको पहिलो नेपाली चलचित्र हो । चलचित्रमा हलिउडका केही प्राविधिकहरूले पनि काम गरेका छन् । चलचित्रको छायाङ्कन, सम्पादन, ध्वनि, कला निर्देशन लगायतका प्राविधिक पक्षहरूमा उच्चस्तरीय काम गरिएको छ ।
चलचित्रले विश्वभरका दर्शकलाई लक्षित गरेको छ । नेपालमा यस चलचित्रको वितरण आरआर फिल्मस् प्रोडक्सनले गर्नेछ । विश्वभरका सिनेमा हलमा बलिउड र हलिउडकै वितरकको संलग्नता यस चलचित्रलाई एकै मितिमा प्रदर्शन गर्ने योजना छ ।