काठमाडौंमा ‘कार्साङ’ प्रिमियर: शेर्पा संस्कृतिको सशक्त चित्रण, दर्शकले दिए उत्कृष्ट प्रतिक्रिया



काठमाडौं – शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘कार्साङ’को बुधवार काठमाडौंमा भव्य प्रिमियर शो को आयोजना गरिएको छ । शेर्पा समुदायको मौलिक कथा र संस्कृतिलाई जीवन्त रूपमा पर्दामा उतारिएको यस चलचित्रले प्रिमियरमा दर्शक र कलाकार वर्गबाट उत्साहजनक प्रतिक्रिया पाएको छ ।

प्रिमियरमा उपस्थित चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक दीपाश्री निरौला, दीपेन्द्र के खनाल, वितरक अशोक शर्मा लगायतका कलाकार तथा चलचित्रकर्मीहरूले ‘कार्साङ’लाई हेर्नै पर्ने मौलिक चलचित्र भएको बताए । उनीहरूले चलचित्रले शेर्पा समुदायको जीवनशैली, संस्कार र सङ्घर्षलाई यथार्थपरक ढङ्गले चित्रण गरेको बताउँदै यसले नेपाली सिनेमामा नयाँ आयाम थपेको प्रतिक्रिया दिएका छन् ।

कलाकार केदार घिमिरेले ‘कार्साङ’ अत्यन्तै राम्रो सिनेमा बनेको भन्दै यसको विषयवस्तु र अभिनयको प्रशंसा गरेका छन् । उनले चलचित्रले अभाव र दुःखका बीच पनि आफ्नो संस्कारलाई जोगाउन सङ्घर्ष गर्ने एक व्यक्तिगत कथा मार्फत समाजलाई प्रेरित गर्ने बताए ।

‘कार्साङ’ ले अभावमा बाँचिरहेको एक व्यक्ति आफ्नो गाउँ, समाज र आफन्तबाट कसरी तिरस्कृत हुन्छ भन्ने यथार्थ चित्रण गरेको छ । चलचित्रले शेर्पा समुदायको संस्कृति अनुभूत गर्न चाहने दर्शकका लागि यो एउटा उत्कृष्ट अवसर भएको बताइएको छ । प्रिमियरमा शेर्पा समुदायको बस्तीमा पुगेको झल्को दिने गरी सजाइएको सिनेमा हलले दर्शकलाई विशेष अनुभव प्रदान गरेको थियो ।

विषयवस्तु र अभिनय दुवैको तारिफ पाएपछि उनीहरू यसको सफलताप्रति निर्माताहरू आशावादी छन् । ‘कार्साङ’ यम शेर्पाले निर्देशन गरेको एक पारिवारिक कथावस्तुमा आधारित चलचित्र हो । यसमा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायाकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् भने कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu