काठमाडौं – विश्वभर प्रसिद्ध डान्स प्रतियोगिता ‘वर्ल्ड अफ डान्स’ (WOD) अब नेपालमा पनि आयोजना हुने भएको छ । आगामी माघ २४ गते, काठमाडौंमा आयोजना हुने यस प्रतियोगितामा देशभरका नर्तकहरूले आफ्नो कला प्रदर्शन गर्नेछन् । अहिलेसम्म डिजिटल अडिसनबाट तीन सय बढीको आवेदन परेको र छनौटको काम भइरहेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
प्रतियोगिता तीन डिभिजन – अपर टिम, सिनियर टिम र जुनियर टिम – मा विभाजन गरिएको छ। प्रत्येक डिभिजनका विजेताले नगद पुरस्कार र अमेरिकामा हुने विश्व स्तरीय WOD मा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् ।
यो रियालिटी शो नभई एक नृत्य प्रतियोगिता हो । प्रतियोगितामा प्रख्यात डान्सरहरू निशान गौचन, जेडी तमु र मुकेश ढकाल निर्णायकको रूपमा रहनेछन् ।
प्रतियोगिता डिजिटल र फिजिकल अडिसनमार्फत चयन प्रक्रिया गर्दै आयोजना गरिनेछ । माघ २४ गते विजेता घोषणा गरिनेछ ।
यो प्रतियोगिता नेपाली डान्सरहरूको लागि एक ठूलो अवसर बन्ने विश्वास गरिएको छ, जसले उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रमाणित गर्ने मौका दिनेछ ।
शोको इभेन्ट कन्सल्टेन्टको रूपमा अभिनेता प्रशान्त ताम्राकार रहेका छन् । प्रशान्तले पनि डान्सरहरूका लागी नेपालमा उपयुक्त स्टेज आएको भन्दै सहभागीहरूलाई शुभकामना दिए ।