काठमाडौं – नेपाली दर्शकको मन जित्न सफल लोकप्रिय साङ्गीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को छैटौँ सिजन आगामी माघ ४ गतेदेखि हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ । शो साँझ ८ बजे टेलिभिजनमा र साढे ८ बजे युट्युब च्यानलमा हेर्न सकिनेछ ।
यस सिजनमा पनि दर्शकले पहिलेका सिजनमा जस्तै विभिन्न रोमाञ्चक राउन्डहरूको मज्जा लिन पाउनेछन् । यस पटक कोचहरूमा केही परिवर्तन गरिएको छ । लोकप्रिय लोकदोहोरी गायक खेम सेन्चुरी र लोकप्रिय गायिका मेलिना राई यस सिजनमा नयाँ कोचका रूपमा आबद्ध भएका छन् । यसअघि पनि कोचको भूमिका निर्वाह गरिसकेका राजु लामा र उदय सोताङले यस सिजनमा पनि प्रतिभाशाली प्रतिस्पर्धीहरूलाई मार्गदर्शन गर्नेछन् ।
ब्लाइन्ड अडिसनमा ६१ जना प्रतिस्पर्धीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्दै दर्शक र कोचहरूको मन जित्नका लागि प्रतिस्पर्धा गर्नेछन् ।