काठमाडौं – नेपाली लोकपप सङ्गीतमा ख्यातिप्राप्त कन्दरा ब्याण्डले लन्डनको प्रतिष्ठित ओटु एरिनामा आफ्नो पहिलो अन्तर्राष्ट्रिय साङ्गीतिक यात्रा सुरु गरेको छ । २,७०० भन्दा बढी दर्शक क्षमताको यस विश्वविख्यात स्थलमा कन्दराले आफ्ना लोकप्रिय गीतहरूमार्फत उपस्थित दर्शकलाई झुमाउन सफल रह्यो ।
विगतमा थुप्रै चर्चित अन्तर्राष्ट्रिय कलाकारहरूको प्रदर्शन स्थल बनेको ओटु एरिनामा यस पटक नेपाली सङ्गीत गुन्जियो । हिउँले पुरिएको चिसो वातावरणमा पनि दर्शकले ९० को दशकमा स्थापित यस प्रिय ब्याण्डको प्रस्तुतिबाट न्यानोपनको अनुभव गरे ।
कन्सर्टको आरम्भमा स्वप्न सुमन र उनको ब्याण्डले माहौल तताए । साँझ झन् रोचक बन्दै जाँदा कन्दरा मञ्चमा आएर दर्शकलाई भरपुर मनोरञ्जन दिए । ब्याण्डका प्रमुख गायक विवेक श्रेष्ठको नेतृत्वमा प्रस्तुत भएका ‘वान्स मोर’को माग पुरा गर्दै कन्दराले एकपछि अर्को हिट गीत प्रस्तुत गर्यो ।
ओटु एरिनामा कन्दरालाई सुन्नका लागि युरोपका विभिन्न देशबाट नेपाली दर्शक उपस्थित भएका थिए । मामाघर इन्टरटेनमेन्ट बेलायतले आयोजना गरेको यो कन्सर्ट ऐतिहासिक बनेको आयोजकले जनाएको छ ।
कन्सर्टपछि ब्याण्डका प्रमुख गायक विवेक श्रेष्ठले यसलाई आफ्नो साङ्गीतिक यात्राको अविस्मरणीय क्षणका रूपमा व्याख्या गरे । ‘नेपाली समुदायको एकता र माया अभूतपूर्व देखियो,’ उनले भने । ओटु एरिनामा प्रस्तुति दिनु आफ्नो जीवनकै ठूलो उपलब्धि रहेको उल्लेख गर्दै विवेकले यस कन्सर्टले नेपाली सङ्गीतले अन्तर्राष्ट्रिय बजारमा स्थान बनाउन सक्ने प्रमाणित गरेको बताए ।
कन्दराले आफ्नो ३२ वर्षे साङ्गीतिक यात्रालाई उत्सवका रूपमा मनाउँदै २०२४–०२५ लाई ‘पहिला घरदेश अनि परदेश’को नारासहित देश-विदेशमा प्रस्तुति दिने योजना सार्वजनिक गरेको छ ।