काठमाडौं – बाल विवाह र महिला हिंसा जस्ता सामाजिक समस्यालाई उजागर गर्ने चलचित्र ‘जुनाः एक व्यथा’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ । आगामी माघ २५ गते रिलिज हुने यो चलचित्रले समाजमा व्याप्त कुप्रथाहरूविरुद्ध आवाज उठाएको छ ।
चलचित्रको पोस्टरमा मुख्य कलाकार अस्मिता ढकाललाई काखमा बच्चा लिएर निराश भावमा देखाइएको छ भने कृष्णप्रसाद धिताल रिसले चुर भएको अवस्थामा देखिएका छन् । यसले चलचित्रको कथावस्तुबारे केही अंश अनुमान गर्न सकिन्छ ।
निर्देशक जीवन सेञ्चुरीका अनुसार ‘जुनाः एक व्यथा’ ले बाल विवाह, महिला हिंसा, अनमेल विवाह जस्ता सामाजिक समस्याहरूलाई उजागर गर्दै यस्ता कुप्रथाहरूको अन्त्य गर्नुपर्ने सन्देश दिन्छ । यो चलचित्रले नेपाल सरकारले सन् २०३० सम्ममा बाल विवाह अन्त्य गर्ने लक्ष्यलाई सघाउने विश्वास निर्देशकको छ ।
चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मि भट्ट, कमल बोहरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपाने जस्ता कलाकारहरूको अभिनय रहेको छ ।
दीपकप्रसाद घिमिरेले लगानी गरेको यो चलचित्र पर्वतको सालिजा ओख्रेनीमा छायाङ्कन गरिएको हो । राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको सङ्गीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईँको छायाङ्कन रहेको छ ।