भारतमा सांसद तथा अभिनेता रवि किशनको बाल्यकालको दुखद अनुभव बाहिर आएको छ । उनले आफ्नो सङ्घर्षपूर्ण जीवनबारे चर्चा गर्दै भने, “बाल्यकालमा अलिकति खिचडीमा १२ जनाको काम चलाउनु पर्थ्यो । सबैको पेट भरियोस् भनेर खिचडीमा धेरै पानी थपिन्थ्यो ।” रवि किशनका अनुसार, उनीहरू पक्की घरमा होइन, झुपडीमा बस्थे, जहाँ पूरै परिवारका सदस्यहरू बस्दै आएका थिए । उनले थपे, “गरिबीको चोट अझै मेरो मनमा छ ।”
शुभांकर मिश्राको पोडकास्टमा कुरा गर्दै रवि किशनले भने, “हामी झुपडीमा बस्थ्यौँ । सबै जमिनहरू धितोमा परेका थिए । मैले यस्तो गरिबी देखेको छु, जुन कसैले कल्पना गर्न पनि सक्दैन । घरमा अलिकति खिचडी बनाइन्थ्यो, जसमा पानी थपेर १२ जनाको पेट भर्नुपर्थ्यो ।”
उनले भने, “त्यो गरिबीले मलाई यति धेरै प्रभावित गर्यो कि म आजसम्म पनि खुलेर पैसा खर्च गर्न सक्दिनँ । महँगो खाना खानु पर्यो भने अझै पनि सोच्नुपर्छ । म आफ्ना लुगा धुन लन्ड्री पठाउन पनि मन पराउँदिनँ । लाग्छ, घरमै सफा गरिदिऊँ ।”
रवि किशनका अनुसार, उनी परिवारका सदस्यहरूको आवश्यकता पूरा गर्न भने हिचकिचाउँदैनन् । परिवारले चाहेका सबै विलासिता उनी उपलब्ध गराउँछन् । तर आफ्ना लागि पैसा खर्च गर्न उनलाई सही लाग्दैन ।
रवि किशनले भने, “म जब मुम्बई आएँ, दिनभर वडापाव र चियामा बित्थ्यो । मुम्बईमा मैले धेरै कठिनाइ झेलेको छु । १५ वर्षसम्म उचित पारिश्रमिक नपाएर काम गरेँ । सम्भवतः यिनै चुनौतीहरूले मलाई यहाँसम्म ल्याएको हो ।”
रवि किशनले यो अन्तर्वार्तामा आफ्नो थर ‘शुक्ला’ किन हटाएको विषयमा पनि खुलासा गरे । उनले भने, “सुरुका दिनहरूमा शुक्ला थरकै कारण काम पाइरहेको थिइनँ । त्यस बेला मलाई पैसाको जरुरी थियो । थर राख्दा वा नराख्दा कस्तो प्रभाव पर्छ भनेर म धेरै डिटेलमा गइन ।”
रवि किशनले आफ्नो करियरमा भोजपुरी, साउथ र बलिउडसहित करिब ७५० चलचित्रमा काम गरेका छन् । उनी उत्तर प्रदेशको गोरखपुरबाट लगातार दुईपटक सांसद पनि निर्वाचित भएका छन् । गत वर्ष रिलिज भएको चलचित्र ‘लापता लेडीज’मा उनको अभिनयलाई निकै प्रशंसा गरिएको थियो ।
- बलिउड भास्करबाट अनुवादित