‘कार्साङ’ ट्रेलरले जित्यो दर्शकको मन



काठमाडौं – नेपाली चलचित्र ‘कार्साङ’ ले आफ्नो ट्रेलर सार्वजनिक गरेसँगै दर्शकको मन जित्न सफल भएको छ । सार्वजनिक भएको २४ घण्टा नबित्दै ट्रेलर युट्युबको मुभी सेक्सनमा दोस्रो स्थानमा पुगेको छ ।

दर्शकले यो ट्रेलरलाई उत्कृष्ट ट्रेलर भनेर प्रशंसा गरिरहेका छन् । दयाहाङ राई र जितु नेपालको अभिनयलाई निकै रुचाइएको छ । दर्शकले शेर्पा समुदायको कथा यति नजिकबाट देख्न पाउँदा उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

ट्रेलरमा शेर्पा समुदायको जीवन, झाँक्री विद्यामाथिको विश्वास, सामाजिक परम्परा, आर्थिक समस्या, प्रशासनिक हस्तक्षेप, र परिवारभित्रको द्वन्द्वलाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । मुख्य पात्रको स्वाभिमान र समाजसँगको सङ्घर्षले दर्शकलाई भावुक बनाउँछ ।

निर्देशक यम शेर्पाका अनुसार ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथा हो । फिल्मले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक पक्षलाई उजागर गर्नेछ । यद्यपि, यो कथा केवल शेर्पा समुदायसँग मात्र सीमित नरहेर सबैले आफ्नो जीवनसँग जोड्न सक्ने खालको रहेको निर्देशकले बताए ।

‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ ।

‘कार्साङ’ पुस २६ गतेदेखि देशभरका सिनेमा हलमा रिलिज हुँदैछ ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu