काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बाल गायक सचिन परियारको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन्, “बाल गायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी छु । एक जना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने सबैलाई पाठ सिकाएको छ । बाल गायक सचिनलाई हार्दिक श्रद्धाञ्जली !!”
१३ वर्षको उमेरमा बिहीबार बिहान त्रिवि शिक्षण अस्पतालमा सचिनको निधन भएको हो । लामो समयदेखि बिरामी रहेका सचिनलाई केही दिनयता आइसियुमा उपचार गरिएको थियो ।
परियारले आफ्नो फरक शैलीको स्वर र प्रस्तुतीकरणले नेपाली सङ्गीत क्षेत्रमा छोटो समयमै सबैको मन जितेका थिए । उनका ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छायाले’ जस्ता गीतहरू अत्यन्त चर्चित थिए । सामाजिक सञ्जालमा भाइरल बनेका सचिनले अभिनेता राजेश हमालसँग म्युजिक भिडियो र हास्य शृङ्खला ‘मेरी बास्सै’मा अभिनय गरेर पनि लोकप्रियता हासिल गरेका थिए ।