काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चलचित्र क्षेत्रमा नयाँ पाइला चाल्दै पार्श्व गायनमा डेब्यु गरेका छन् । आफ्नै शब्द, सङ्गीत र स्वरमा तयार पारिएको हिप-हप गीतसहित उनी चलचित्र ‘लाज शरणम्’मा देखिने भएका हुन् ।
निर्माता कम्पनी जेपीटी क्रियसनले जनाएअनुसार बालेनले केही समयअघि नै गीत रेकर्ड गरेका हुन् । जेपीटी क्रियसनका प्रमुख अर्जुन घिमिरे देशका लागि चलचित्र बनाएको र यसले नेपाली जनजीवन र संस्कृति झल्काउने मन छुने कथामा फिल्म बनाएको भनेपछि बालेनले खुसी हुँदै गीत रेकर्ड गरेका हुन् ।
बालेनसँग भिडियो बन्न बाँकी झण्डै २० गीत रहेको र तीमध्येबाट एक गीत छानेर ‘लाज शरणम्’का लागि रेकर्ड गरिएको बताइएको छ । उनका चर्चित गीतहरूमा बलिदान, स्याभेज, मार्फाको मदिरा, स्टे ट्रु, गोर्खाली तोप, यथार्थलगायत पर्छन् ।
गीतलाई फिल्म रिलिजअघि सार्वजनिक गर्ने तयारी छ । ‘लाज शरणम्’ फिल्म आगामी १४ फागुनमा प्रदर्शन हुनेछ ।