काठमाडौं – नेपाली चलचित्र क्षेत्रका चर्चित हास्य कलाकार दीपकराज गिरी र निर्माता सरोज न्यौपानेले नयाँ चलचित्रमा सहकार्य गर्ने भएका छन् । यो जोडीले नेपाली दर्शकलाई नयाँ प्रकारको हास्य व्यङ्ग्य प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
दुवै कलाकारले बुधवार सामाजिक सञ्जालमा यस सहकार्यको जानकारी गराएका हुन् । दीपकराजले सामाजिक सञ्जालमा लेखेका छन्, “नयाँ वर्ष, नयाँ कामको सुरुवात ।” तस्बिरमा दीपकराज र सरोजसँगै कलाकार निर्मल शर्मालाई पनि देखिन्छ ।
यद्यपि चलचित्रको नाम र कथावस्तुबारे विस्तृत जानकारी दिइएको छैन, निर्माता सरोज न्यौपानेले चलचित्रको कन्सेप्ट दुवैलाई मन परेको र दीपकराजले नै स्क्रिप्ट लेखिरहेको बताएका छन् । उनले आगामी वर्षको तिहारमा फिल्म रिलिज गर्ने लक्ष्य राखेका छन् ।
यसमा दीपकराज मुख्य भूमिकामा देखिनेछन् भने निर्मल शर्मा पनि अभिनय गर्नेछन् । बाँकी कलाकार र निर्देशक छिट्टै सार्वजनिक गरिने जनाइएको छ । छायाङ्कन आगामी वैशाखबाट सुरु हुने तयारी छ ।
यो चलचित्रमा सरोज न्यौपानेको एकल लगानी रहने बताइएको छ । दीपकराज भने मुनाफाको हिस्सेदारीमा रहनेछन् । यसअघि पनि दीपकराजको समूहले ५० प्रतिशत मुनाफा लिने गरी ‘छ माया छपक्कै’मा काम गरेको थियो ।
यसमा ‘छक्का पञ्जा’ समूहका अन्य कलाकारहरू जोडिन्छन् कि जोडिँदैनन् भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था छैन । यद्यपि, दीपकराज र सरोजको यो नयाँ सहकार्यले नेपाली दर्शकमा उत्सुकता बढाएको छ ।