काठमाडौं – दयाहाङ राई, जितु नेपाल, दिया मास्के तथा सृजना निङलेखु अभिनीत चलचित्र ‘कार्साङ’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले ग्रामीण समाजका जटिलता, अभाव, र व्यक्तिगत सङ्घर्षलाई मार्मिक ढङ्गले चित्रण गरेको छ ।
पुस २६ गते रिलिजको तयारीमा रहेको चलचित्रको ट्रेलरले दयाहाङको पात्रलाई समाजले पानीबाट काढ्ने चेतावनीबाट सुरु गर्दै मनको तीतो र अभावलाई उजागर गर्छ । झाँक्री विद्या, सामाजिक परम्परा, आर्थिक अभाव, र समाजको बहिष्कार जस्ता विषयवस्तुलाई ट्रेलरले समेटेको छ । रिस, द्वेष, र समाजको निर्णयले परिवारमा निम्त्याएको विचलन र फाटोलाई पनि ट्रेलरले देखाएको छ । अन्धविश्वास, परिवारको माया, र अरूको चियोचर्चो गर्ने समाजले परिवारमा पुर्याएको बेमेल र छिन्नभिन्न परिवारको कथा समेट्दै ट्रेलर अन्त्य हुन्छ ।
निर्देशक यम शेर्पाका अनुसार ‘कार्साङ’ ग्रामीण तथा शेर्पा समुदायको परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको छ । यद्यपि, यो कथा सबैले आफ्नो जीवनसँग जोड्न सक्ने निर्देशकको दाबी छ ।
‘कार्साङ’मा दयाहाङ, सिर्जना, जितु, दियासँगै बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ । यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायाकार पुरुषोत्तम प्रधान हुन् । सह निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।
ट्रेलर: