काठमाडौं – महाशिवरात्रिको अवसरमा फागुन १४ गते रिलिज हुन लागेको नेपाली चलचित्र ‘लाज शरणम्’का तीन पोस्टरहरू एकसाथ सार्वजनिक गरिएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएका पोस्टरहरूमा मृत्यु, लोभ र प्रतिशोधजस्ता गम्भीर विषयलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ ।
कफिन भित्रका कलाकारहरूले मृत्युपछिको जीवनबारे प्रश्न उठाउँछन् भने तराजुमा यार्सा र सुनको तुलनाले सम्पत्तिको लोभलाई उजागर गर्छ । यसबाहेक, हड्डीको शङ्ख फुक्ने दृश्यले प्रतिशोधको भावलाई झल्काउँछ । पोस्टर डिजाइन विजय बस्यालले गरेका हुन् ।
‘सक्किगोनी’ टिमका चर्चित कलाकारहरूको अभिनय रहेको यो चलचित्रबाट दर्शकमाझ उच्च अपेक्षा बोकेका छन् । कुमार कट्टेल (जिग्री ब्रो)ले निर्देशन गरेको यो चलचित्रमा चलचित्रमा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनी टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिस निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणि नेपाल (खुपीका बाउ) लगायत कलाकारको अभिनय छ । सिनेमालाई सुदीप बरालले छायाङ्कन गरिरहेका छन् ।
नवीन श्रेष्ठ निर्माता रहेको यस चलचित्रमा राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । सुदीप बराल चलचित्रका छायाकार हुन् ।