काठमाडौं – जीवनलाई ‘रोलर कोस्टर’ यात्राको रूपमा परिभाषित गर्ने अभिनेता प्रदिप खड्का आफूलाई भाग्यमानी ठान्छन्, किनभने उनले फिल्मको संसारमा भोगेका सङ्घर्ष र अनुभवलाई जीवनको अनमोल पाठ मान्छन् । अभिनेता खड्काले आफ्नो यात्रालाई भावनात्मक र प्रेरणादायी रूपमा प्रस्तुत गर्दै आफ्नो जीवन र अभिनय यात्राका विभिन्न चरणबारे बिस्तारमा बोलेका छन् ।
खड्काले हालै आफ्नो नयाँ चलचित्र ‘एक्टरः टेक वन’को प्रचारका क्रममा एक भिडियोमा आफ्नो अभिनय यात्राबारे खुलेर चर्चा गरेका छन् । आफ्नै सोसल मिडियामा पोस्ट भएको भिडियोमा उनले भनेका छन्, “जीवन आफैँमा एउटा ‘रोलर कोस्टर’ यात्रा हो । उतार-चढाव, तनाव र चिन्ता यसमा हुन्छन् । तर, फिल्मको दुनियाँमा ती अनुभव झन् गहन र चुनौतीपूर्ण छन् । बाहिरबाट आएको व्यक्तिका रूपमा, जसको चलचित्र क्षेत्रसँग कुनै सम्बन्ध थिएन, यो यात्रा अझै बढी कठिन थियो । न फिल्मको पृष्ठभूमि थियो, न त कुनै फिल्मको औपचारिक शिक्षा । तर, यत्ति भन्न सक्छु, यी चुनौतीहरूले मलाई आज यहाँसम्म ल्याए ।”
खड्काको चलचित्र यात्रा १० वर्षभन्दा बढी लामो भइसक्यो । उनले चलचित्र निर्माणका चरणहरू प्रि-प्रोडक्सन, प्रोडक्सन, र पोस्ट-प्रोडक्सनबाट सिक्दै, सङ्घर्ष गर्दै अघि बढेका छन् । उनले भनेका छन्, “चलचित्र बन्छ कि बन्दैन भन्ने कुरा निर्माता र परिस्थितिमा भर पर्छ होला । तर, चलचित्र चल्छ कि चल्दैन, त्यो निर्णय मात्र दर्शकहरूले गर्न सक्नुहुन्छ । यही तथ्यलाई मैले स्वीकार गरेँ, र यसले मलाई अझै पनि अघि बढ्न प्रेरित गरिरहेको छ ।”
उनले आफ्नो जीवनका उतार-चढावलाई मुटुको चालसँग तुलना गर्छन्, “जबसम्म उतार-चढाव छ, तबसम्म जीवन छ । जब ग्राफ सिधा हुन्छ, तब जीवन समाप्त हुन्छ । यही कारणले म गर्व गर्छु कि मेरो जीवनमा ती उतार-चढाव थिए । ती क्षणहरूले मलाई अझ बलियो र सक्षम बनाएको छ ।”
उनले आगामी माघ १६ गते प्रदर्शन हुन लागेको आफ्नो चलचित्र ‘एक्टरः टेक वन’ प्रति दर्शकहरूको ध्यानाकर्षण गराए । “मेरो जीवनको यात्रा रोचक लाग्न सक्छ वा नलाग्न सक्छ। तर, चलचित्र ‘एक्टरः टेक वन’मा मैले निभाएको भूमिकाको यात्रा पक्कै रोचक लाग्नेछ । यो चलचित्र केवल मेरो लागि मात्र नभई सम्पूर्ण नेपाली चलचित्र उद्योगका लागि विशेष छ,” खड्काले भने ।
खड्काले दर्शकहरूप्रति आभार व्यक्त गर्दै निरन्तर समर्थनका लागि धन्यवाद दिएका छन् । उनले आफ्नो मेहनत र चुनौतीहरूको कथा दर्शकहरूसँग बाँडेका छन्, जुन चलचित्र क्षेत्रसँग सम्बन्धित सबैका लागि प्रेरणादायी छ ।
उनले सन् २०११ मा ‘स्केप’ चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । यद्यपि, सन् २०१५ मा प्रदर्शनमा आएको ‘प्रेम गीत’ले उनलाई व्यापक चर्चा र लोकप्रियता दिलायो । प्रदिपले नेपाली चलचित्र उद्योगमा आफ्नो विशिष्ट पहिचान बनाएका छन् ।