काठमाडौं – नेपाली सङ्गीत क्षेत्रको चर्चित ब्याण्ड नेपथ्यको आधिकारिक जीवनी अब पढ्न पाइने भएको छ । ब्याण्डको स्थापना भएको साढे तीन दशकपछि नेपथ्यको यात्रा, सङ्घर्ष र सफलताको कथा बोकेको पुस्तक ‘नेपथ्य: लोकप्रिय यात्राको अन्तरङ्ग’ सार्वजनिक हुने भएको हो ।
ब्याण्डका संस्थापक एवं मुख्य गायक अमृत गुरुङले भने, “हामीले आजसम्म अनेक जिज्ञासाको जवाफ दिँदै आएका छौँ, आजसम्म नसोधिएका थुप्रै प्रश्नको उत्तर यो पुस्तकले प्रस्तुत गर्नेछ ।” पुस्तकमा नेपथ्यको जन्मदेखि अहिलेसम्मको यात्रा, उतारचढाव, गीतको खोजीमा गरिएका सङ्घर्ष, सङ्गीतबाट समाज सेवासम्मका विभिन्न पक्ष समेटिएका छन् ।
लेखक गिरीश गिरीले ब्याण्डसँगको लामो साझेदारी र अध्ययनका आधारमा यो पुस्तक तयार पारेका हुन् ।
यो पुस्तक केवल नेपथ्यको जीवनी मात्र होइन, नेपाली सङ्गीतको एक कालखण्डको अध्ययन पनि रहेको बताइएको छ । पुस्तकले नेपथ्य ब्याण्डको अन्तरङ्ग कथा त भन्छ नै, नेपाली सङ्गीतको विकास क्रम र यसमा नेपथ्यको योगदानबारे पनि प्रकाश पार्नेछ ।
सन् २०२२ मा नेपथ्यले गरेको देशव्यापी साङ्गीतिक यात्राको अनुभव पनि यस पुस्तकमा समेटिएको छ । यसले पाठकलाई ब्याण्डसँगै त्यो यात्रामा सहभागी गराउनेछ ।
पुस्तकको अग्रिम बुकिङ नेपथ्यको वेबसाइटमार्फत खुला गरिएको छ । विशेष योजना अन्तर्गत पाठकले न्यूनतम २५ रुपैयाँ तिरेर पनि पुस्तक प्राप्त गर्न सक्नेछन् । यो पुस्तक २०२५ को फेब्रुअरीमा सार्वजनिक हुनेछ ।
यो पुस्तक पब्लिकेसन नेपालयले प्रकाशित गरेको हो । नेपालय र नेपथ्यबीचको यो साझेदारी २५ वर्ष पुरानो हो । नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठले यो पुस्तकलाई उत्सवका रूपमा लिएको बताए ।
नेपथ्यका लाखौँ फ्यानहरूका लागि यो पुस्तक निकै महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ ।