चितवन – चलचित्र पत्रकार सङ्घ नेपालको पाँचौँ पूर्ण बैठकले १३ बुँदे चितवन घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । घोषणापत्रमा श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको माग गरिएको छ ।
चितवनको नारायणगढमा आयोजित तीन दिने बैठकमा सङ्घले राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कारका लागि कोष स्थापना गर्ने निर्णय गरेको छ । यसका साथै, आगामी चैतमा दोस्रो राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि भएको छ ।
बैठकमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीसँगको अन्तरक्रियामा मोफसलमा नेपाली चलचित्रको बजार र चलचित्र पत्रकारहरूको सम्बन्धबारे विस्तृत छलफल भएको थियो । डिसीले आफ्नो कार्यकालमा गरेका कामहरूबारे जानकारी गराउँदै मोफसलको पत्रकारितालाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएका छन् ।
चितवन घोषणापत्र यस्तो छ:
१. चलचित्र पत्रकारहरूको हक र अधिकारको संरक्षणका लागि सङ्घ गोलबद्ध भएर अघि बढ्ने निर्णय गरियो । यसले पत्रकारहरूको व्यावसायिक मान्यता र सुरक्षा सुनिश्चित गर्नेछ । साथै चलचित्र पत्रकारका लागि कार्यशाला, गोष्ठी, अध्ययन भ्रमण र तालिमहरूको व्यवस्थापनका लागि सहकार्य, सहयोग र आयोजना गर्न सम्बन्धित पक्षसँग यो बैठक माग गर्दछ ।
२. चलचित्र पत्रकारिता पेसामा जिम्मेवारिता र प्रोत्साहन बढाउन, चलचित्र पत्रकारिता पुरस्कार र सम्मान कोषको स्थापना गरिएको छ । साथै सङ्घको कोषको सहयोगार्थ च्यारिटी कार्यक्रमहरूको आयोजना गर्ने र कोषमा सहयोग गर्न सबै पक्षसँग सङ्घ अपिल गर्दछ।
३. विधागत पत्रकारितामा विभिन्न समस्या, चुनौती र सम्भावना उत्तिकै रूपमा देखिएको छ। पछिल्लो समय चलचित्र पत्रकारितामा देखिएको विकृति र विसङ्गतिलाई हटाउँदै मर्यादित र जिम्मेवार रूपमा व्यावसायिक पत्रकारिता गर्न यो बैठक सम्पूर्ण चलचित्र पत्रकारहरूमा अनुरोध गर्दछ।
४. बिट पत्रकारिताको समस्या सम्बोधन गरी यसको संरक्षण र प्रवर्द्धनका लागि विशेष योजना बनाई कार्यान्वयन गर्न यो बैठक सम्बन्धित निकायसँग माग गर्दछ ।
५. अनलाइन पत्रिका तथा बिट पत्रकारितालाई पनि लोक कल्याणकारी विज्ञापनले समेट्न यो बैठक माग गर्दछ । साथै चलचित्र पत्रकारिता मात्रै गर्ने स्वरोजगारीमूलक मिडियाहरूलाई चलचित्र विकास बोर्डले समन्वय र सहकार्य गरी संरक्षण गर्न यो बैठक चलचित्र विकास बोर्डसँग माग गर्दछ ।
६. स्वायत्त चलचित्र उद्योग र नेपाली चलचित्रको विकास र प्रवर्द्धनका लागि २०२६ सालको ऐनलाई प्रतिस्थापन गर्न बनेको प्रस्तावित चलचित्र ऐन सबै स्टेकहोल्डरलाई प्रभावकारी हुने गरी तत्काल ल्याउन यो बैठक नेपाल सरकार समक्ष माग गर्दछ ।
७. सिनेमा पर्यटन प्रवर्धनको मुख्य आधार हो। यसर्थ नेपाली सिनेमाको माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी कार्यक्रमहरू तय गर्न यो बैठक सबै तहका सरकार र सम्बन्धित निकायसँग जोडदार माग गर्दछ।
८. नेपाली कला, संस्कृति र पहिचानसहितको मौलिक चलचित्र तथा अन्तर्राष्ट्रिय रूपमा प्रतिनिधित्व गर्ने नेपाली चलचित्र वा चलचित्रकर्मी र महोत्सवहरूमा जाने चलचित्र तथा चलचित्रकर्मीलाई प्रोत्साहन, प्रवर्धन तथा प्रचार प्रसार गर्न यो बैठक सम्बन्धित निकायसँग माग गर्दछ ।
९. श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको लागि यो भेला माग गर्दछ ।
१०. चलचित्र पत्रकार सङ्घ नेपाललाई हरेक आर्थिक वर्षमा सहुलियत अनुदान रकममा वृद्धि गर्दै उपलब्ध गराउन सञ्चार मन्त्रालय सहित केन्द्रीय, प्रदेश तथा स्थानीय सरकार र सम्बन्धित पक्षसँग यो बैठक माग गर्दछ।
११. नेपाली चलचित्रको समस्याको रूपमा रहेको रियल टाइम बक्स अफिसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न यो बैठक माग गर्दछ। साथै बक्स अफिस रिपोर्टलाई सूचनाको हक अनुसार सार्वजनिक गर्न पनि अनुरोध गर्दछ।
१२. चितवनको विभिन्न पर्यटकीय क्षेत्र सुन्दर नगरीहरूको प्रवर्द्धनका लागि नेपाली सिनेमा मार्फत प्रस्तुत गर्न तिनै तहका सरकारले सिनेमा पर्यटनका कार्यक्रमहरूलाई अगाडि सार्न यो बैठक माग गर्दछ। साथै सिनेमा पर्यटनको प्रवर्द्धनका लागि स्थानीय सरकारहरूलाई नेपाली चलचित्रको छायाङ्कनका लागि सहुलियत प्रदान गर्न यो बैठक माग गर्दछ ।
१३. सङ्घको पाँचौँ पूर्ण बैठक तथा शाखा अध्यक्षहरूको भेला सम्पन्न गर्न सहयोग र संयोजन गर्नु हुने चलचित्र पत्रकार सङ्घ नेपाल चितवन शाखा लगायत सम्पूर्ण सङ्घ संस्था र प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैमा यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।