अभिनेत्री प्रियङ्का चोपडाले लामो समयपछि भारतीय चलचित्रमा कमब्याकको तयारी गरिरहेकी छन् । फरहान अख्तरको चलचित्र ‘जी ले जरा’ बाट उनी भारतीय चलचित्रमा फर्कने बताइएको थियो, तर अहिले यो चलचित्र रोकिएको खबर छ । यसैबीच, प्रियङ्काले एस एस राजामौलीको आगामी तेलुगु चलचित्र साइन गरेकी छन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार यो चलचित्र अफ्रिकी जङ्गल एडभेन्चरमा आधारित हुने बताइएको छ, तर यसको ‘टाइटल’ अहिलेसम्म तय गरिएको छैन । चलचित्रमा दक्षिण भारतका सुपरस्टार महेश बाबुले अनुसन्धानकर्ताको भूमिका निर्वाह गर्नेछन् । पिंकविल्लाको एक रिपोर्टअनुसार, ‘बाहुबली’ र ‘आरआरआर’ को सफलता पछि एस एस राजामौली महाकाव्यमा आधारित चलचित्र बनाउन लागेका हुन् । चलचित्रको स्क्रिप्ट तयार भइसकेको छ । प्रियङ्का चोपडाले यो चलचित्रको छायाङ्कन २०२५ को अप्रिलदेखि सुरु गर्नेछिन् भने महेश बाबुसँग चलचित्रको मुख्य छायाङ्कन २०२६ मा हुनेछ ।
चलचित्रको छायाङ्कन भारतका साथै अमेरिका र अफ्रिकाका जङ्गलहरूमा समेत गरिनेछ । यो चलचित्रलाई २०२७ मा रिलिज गर्ने योजना रहेको छ ।
यो चलचित्र प्यान-इन्डिया हुने बताइएको छ, जसलाई हिन्दी, तमिल, मलयालम र कन्नड भाषामा पनि रिलिज गरिनेछ । निर्देशक राजामौलीले ग्लोबल पहिचान भएकी अभिनेत्रीको खोजी गरिरहेका थिए । यसै क्रममा, उनले विगत ५–६ महिनामा प्रियङ्कासँग धेरै पटक भेटघाट गरे र अन्ततः उनलाई चलचित्रका लागि छनोट गरे । चलचित्रलाई विश्वव्यापी रूपमा चर्चित बनाउन डिज्नी र सोनी पिक्चर्सजस्ता ठूला स्टुडियोहरूसँग छलफल भइरहेको बताइएको छ ।
सन् २०२१ मा फरहान अख्तरले ‘जी ले जरा’ चलचित्रको घोषणा गरेका थिए । यसमा प्रियङ्का चोपडा, आलिया भट्ट र कटरीना कैफले मुख्य भूमिका निर्वाह गर्ने कुरा थियो । तर, अहिलेसम्म चलचित्र निर्माणमा कुनै प्रगति भएको समाचार आएको छैन । समय-समयमा प्रियङ्का र कटरीनाले चलचित्र छोडेको खबर आइरहेको छ ।
प्रियङ्का अन्तिम पटक भारतीय चलचित्र ‘द स्काइ इज पिंक’ (२०१९) मा देखिएकी थिइन् । त्यसपछि उनी नेटफ्लिक्सको ‘द व्हाइट टाइगर’ (२०२१) मा समेत अभिनय गरिसकेकी छन् । भारतीय चलचित्रमा प्रियङ्काको उपस्थिति नभए पनि, उनीसँग हलिउडका ठूला प्रोजेक्टहरू छन् । उनी छिट्टै ‘द ब्लफ’ र ‘हेड अफ स्टेट्स’ जस्ता हलिउड चलचित्रहरूमा देखिनेछिन् ।