काठमाडौं – दीपेन्द्र लामाको निर्देशनमा बनेको नेपाली चलचित्र ‘दुखी आत्मा’को विश्व बजारमा चर्चा बढेको छ । फर्स्ट लुक सार्वजनिक भए लगत्तै चलचित्रको जापान वितरण अधिकार यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको छ ।
यूएनएका प्रमुख उज्ज्वल गुरागाईँले जापानी दर्शकमा ‘दुखी आत्मा’ प्रति देखिएको उत्सुकताका कारण यसलाई आफ्नो कम्पनीले वितरण गर्न पाउँदा खुसी लागेको बताए । उनका अनुसार, चलचित्र नेपालमा रिलिज हुने दिनमै जापानमा पनि प्रदर्शन गरिनेछ ।
दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाहीलगायतका कलाकारको अभिनय रहेको यस चलचित्र हिमाल कडरियाले निर्माण गरेका हुन् । कडरियाले अन्य देशहरूबाट पनि उच्च माग आएको बताए ।
क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई आलोक शुक्लाले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । यसमा चर्चित कवि श्रवण मुकारुङका कविताहरू पनि समावेश छन् ।