काठमाडौं – विश्वभर चर्चा कमाएको दक्षिण कोरियाली डिस्टोपियन थ्रिलर शो ‘स्क्विड गेम’को दोस्रो सिजन बिहीबारदेखि नेटफ्लिक्समा प्रसारण सुरु भएको छ । २०२१ मा पहिलो सिजन रिलिज भएपछि विश्वभरका दर्शकहरूको ध्यान खिच्न सफल यो शृङ्खलाले दोस्रो सिजनमार्फत पुनः धमाका मच्चाउने अपेक्षा गरिएको छ ।
यो शृङ्खलालाई कोरियाली लेखक तथा टेलिभिजन निर्माता ह्वाङ डङ-ह्युकले सिर्जना गरेका हुन् । पहिलो सिजन दक्षिण कोरियाको आर्थिक संकटमा आधारित थियो, जहाँ जीवन र मृत्युको खेल खेल्न मानिसहरू बाध्य हुन्छन् । यो खेल नकाबधारी सेनाले सञ्चालन गर्छ । खेलाडीहरू क्रमशः खेलबाट बाहिरिन्छन् (मारिन्छन्) र अन्तिम विजेताले ठुलो पुरस्कार जित्छन् । पहिलो सिजनमा प्लेयर ४५६ को जीत र खेलको आयोजना गर्नेहरूबारे रहस्यमय खुलासा हुँदै समाप्त भएको थियो ।
दोस्रो सिजन पहिलो सिजनको तीन वर्षपछिको घटनालाई समेट्दै सुरु हुन्छ । प्लेयर ४५६ अमेरिका जाने आफ्नो योजना त्यागेर पुनः खेलमा सहभागी हुन्छन् र जीवन-मरणको चुनौती सामना गर्न तयार हुन्छन् । ‘स्क्विड गेम २’ मा सात भाग समावेश गरिएको छ र यो हिन्दी, तमिल, तेलुगुसहित विभिन्न अन्तर्राष्ट्रिय भाषाहरूमा समेत डबिङ गरिएको छ ।
दोस्रो सिजनमा ली जङ-जे, ली ब्युङ-हुन, वी हा-जुन, र गोङ यु जस्ता चर्चित कलाकारहरूसँगै नवआगन्तुकहरू यिम सी-वोन, काङ हा-नेउल, पार्क ग्यु-योङ, ली जिन-उक, पार्क सुङ-हुन, याङ डङ-ग्युन, काङ ए-सिम, ली डेभिड, छोइ सुङ-ह्युन, रो जे-वोन, जो यु-री, र वोन जी-आनले अभिनय गरेका छन् ।
यो सिजनलाई इमी अवार्ड विजेता लेखक तथा निर्देशक ह्वाङ डङ-ह्युकले लेखन, निर्देशन र कार्यकारी निर्माता रूपमा तयार पारेका हुन् । शृङ्खलाको तेस्रो भागको घोषणा भने अहिलेसम्म गरिएको छैन । पहिलो सिजन लेखन र अभिनयका कारण आलोचकहरूको प्रशंसा पाउन सफल भएको थियो ।