
काठमाडौं – चर्चित भारतीय गायक सोनु निगमले क्रिसमसको अवसरमा काठमाडौंमा आयोजित ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्टले दर्शकलाई मन्त्रमुग्ध बनाएको छ । बौद्धस्थित हायात रिजेन्सीको चौरमा आयोजित यस कन्सर्टमा करिब १० हजार दर्शकको सहभागिता रहेको आयोजक नेपाल टचले जनाएको छ ।

बुधवार साँझ ७:३० बजे स्टेजमा प्रस्तुत भएका निगमले आफ्ना चर्चित बलिउड गीतहरूसँगै नेपाली गीतहरू गाएर दर्शकलाई झुमाए । निगमको स्वरमा आधा दर्जन बढी नेपाली सुपर हिट गीतहरू छन्, जसमा‘उकाली ओराली गर्दै’, ‘फूलको डाली डालीमा’ र ‘यो जिन्दगीले के गर्यो के गर्यो’ बढी चर्चित छन् । चिसो मौसममा पनि दर्शकहरू निगमका मधुर स्वरमा लीन भए । स्टेजमा उक्लिए लगत्तै निगमले नेपाली दर्शकको मायाप्रति आभार व्यक्त गरेका थिए ।

कन्सर्टमा सहभागी हुन बुधवार अपराह्न काठमाडौं आएका निगम बिहीबार बिहान पशुपतिनाथको दर्शन गर्ने र पर्वतीय उडान भर्ने कार्यक्रम छ। त्यसपछि उनी दिल्ली फर्कनेछन् ।
तस्बिर श्रोतः आयोजक