काठमाडौं – बाल विवाह र महिला हिंसा जस्ता सामाजिक कुरीतिहरू विरुद्धको सन्देश बोकेको नेपाली चलचित्र ‘जुना’ को फस्ट लुक सार्वजनिक भएको छ । आगामी माघ २५ गते रिलिज हुने यस चलचित्रले नेपाली समाजमा व्याप्त यस्ता समस्याहरूलाई पर्दामा उतारेको बताइएको छ ।
‘जुना’ एक ग्रामीण युवतीको जीवन यात्रामा केन्द्रित छ । यसमा बाल विवाहका कारण हुने विभिन्न समस्याहरू, महिलाहरूमाथि हुने हिंसा र समाजमा व्याप्त कुप्रथाहरूलाई चित्रण गरिएको छ । निर्देशक जीवन सेन्चुरीका अनुसार यो फिल्मले बाल विवाहलाई सामाजिक अपराधको रूपमा चित्रण गर्दै यसको अन्त्यका लागि जनचेतना फैलाउने लक्ष्य राखेको छ ।
चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल लगायतका कलाकारहरूको अभिनय रहेको छ । अस्मिता ढकालले मुख्य भूमिका निभाएकी छिन् ।