काठमाडौं – प्रसिद्ध भारतीय चलचित्र निर्देशक, पटकथा लेखक र निर्माता श्याम बेनेगलको ९० वर्षको उमेरमा सोमवार निधन भएको छ । उनले भारतको मुम्बईस्थित वोकहार्ट अस्पतालमा साँझ ६:३८ बजे अन्तिम सास लिए । लामो समयदेखि मिर्गौलासम्बन्धी समस्याबाट पीडित श्याम बेनेगलका निधनले भारतीय सिनेमा क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । उनको अन्तिम संस्कार मङ्गलवार मुम्बईमा गरिने भारतीय सञ्चारमाध्यमहरूमा खबर छ ।
श्याम बेनेगल भारतीय चलचित्र क्षेत्रका उत्कृष्ट निर्देशक मात्र होइनन्, उनले ८ पटक राष्ट्रिय पुरस्कार जित्ने दुर्लभ कीर्तिमान बनाएका थिए । “मन्थन”, “मन्डी”, “आरोहण”, “भूमिका” र “जुबैदा” जस्ता कालजयी चलचित्रहरूका लागि चर्चित उनी समकालीन भारतीय चलचित्रका जन्मदाता मानिन्छन् ।
उनको “मन्थन” चलचित्र सन् १९७६ मा भारतको दुग्ध क्रान्ति (श्वेत क्रान्ति) को कथा हो, जुन पहिलो पटक ५ लाख किसानहरूको २–२ रुपैयाँ सहयोगबाट निर्माण गरिएको थियो । यो चलचित्रले न केवल भारतमा राष्ट्रिय पुरस्कार जित्यो, तर सन् १९७७ मा ओस्कारको लागि मनोनयन पनि पाएको थियो ।
श्याम बेनेगलले धेरै कलाकारहरूको करियरमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । स्मिता पाटिल, नसीरुद्दीन शाह, अमरीश पुरीजस्ता कलाकारहरूलाई सिनेमा क्षेत्रमा स्थापित गराउने श्रेय उनलाई जान्छ । स्मिता पाटिलले “चरणदास चोर” चलचित्रबाट आफ्नो करियर सुरु गरेकी थिइन् । अमरीश पुरी, जो एक समय इन्स्योरेन्स एजेन्ट थिए, उनलाई पनि “निशान्त” चलचित्रबाट खलनायकको रूपमा स्थापित गराउन बेनेगलकै योगदान थियो ।
बेनेगलको अन्तिम चलचित्र “मुजीब: द मेकिङ अफ ए नेशन” बङ्गलादेशका नेता शेख मुजीबुर्रहमानको जीवनीमा आधारित थियो । यो चलचित्र बङ्गलादेश र भारत सरकारको संयुक्त प्रयासमा निर्माण गरिएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदी र शेख हसिनाको आग्रहमा उनले यो चलचित्र निर्देशन गरेका थिए ।
बेनेगलले आफ्नो जीवनभर चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान गरे । उनले “भारत एक खोज” जस्तो ऐतिहासिक टेलिभिजन सिरिज निर्माण गरे, जसले भारतीय इतिहासलाई परिभाषित गर्यो ।