दक्षिण भारतीय अभिनेता अल्लू अर्जुनको हैदराबादस्थित घरबाहिर उस्मानिया विश्वविद्यालयका विद्यार्थीहरूले तोडफोड गरेका छन् । यो घटनामा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतीय मिडियामा प्रकाशित समाचार अनुसार विद्यार्थीहरू जबरजस्ती अल्लू अर्जुनको घरभित्र छिर्न खोजेका थिए । सुरक्षाकर्मीहरूले रोक्ने प्रयास गरेपछि उनीहरूले घरबाहिर राखिएका गमलाहरू तोडफोड गरे । केही सञ्चार माध्यमका रिपोर्टअनुसार, विद्यार्थीहरूले अल्लू अर्जुनको घरमा टमाटर फालेकोसमेत उल्लेख गरिएको छ ।
विद्यार्थीहरूले चलचित्र पुष्पा-२ को प्रिमियरका क्रममा हैदराबादस्थित सन्ध्या थिएटरमा भागदौड मच्चिँदा ज्यान गुमाएकी महिलाको परिवारलाई १ करोड रुपैयाँ क्षतिपूर्ति दिन माग गरेका छन् ।
यस घटनाको केही समयअघि अल्लू अर्जुनले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्ना प्रशंसकहरूलाई जिम्मेवारीपूर्वक आफ्नो भावना व्यक्त गर्न अपिल गरेका थिए । उनले लेखेका थिए, “कुनै पनि अनलाइन वा अफलाइन माध्यममा अपमानजनक भाषा प्रयोग नगर्नुहोस् र कसैसँग दुर्व्यवहार नगर्नुहोस् ।”
अल्लू अर्जुनले पहिल्यै मृतक महिला रेवतीको परिवारलाई २५ लाख रुपैयाँ सहयोग दिने घोषणा गरेका थिए । साथै, घाइतेहरूको उपचारको सम्पूर्ण खर्च पनि उनी आफैले व्यहोर्ने बताएका थिए ।