काठमाडौं – पछिल्लो समय लगातार चलचित्रमा व्यस्त रहने अभिनेता दयाहाङ राई यस पटक भने ६ महिनाको अन्तरालपछि दर्शकमाझ फर्किँदै छन् । उनको नयाँ चलचित्र ‘कार्साङ’ पुस २६ गते रिलिज हुँदैछ ।
पछिल्ला केही वर्षदेखि दयाहाङ राई हरेक महिनाजस्तै नयाँ चलचित्र लिएर दर्शकमाझ आउने गरेका थिए । कहिलेकाहीँ त एउटै मितिमा दुई चलचित्र समेत रिलिज हुने गरेका छन् । तर, यस पटक भने उनले ‘घर ज्वाइँ’ पछि अर्को चलचित्र लिएर आउन ६ महिनाको समय लगाएका छन् ।
‘कार्साङ’ मा दयाहाङले एक पारिवारिक जिम्मेवार अभिभावकको भूमिका निर्वाह गरेका छन् । चलचित्रले गरिबी र अभावबीच आफ्नो जातिको संस्कारलाई जोगाउने एक इमानदार व्यक्ति र समाजले उनलाई कसरी हेर्छ भन्ने कथा रहेको बताइएको छ ।
‘कार्साङ’ ले शेर्पा समुदायको जीवनशैली र संस्कृतिलाई पनि पर्दामा उतारेको छ । दयाहाङले यसअघि पनि मौलिक कथामा आधारित चलचित्रहरूमा काम गर्दै आएका छन् र ‘कार्साङ’ पनि त्यस्तै अर्को प्रयास हो ।
‘कार्साङ’ यम शेर्पाको निर्देशनमा बनेको पहिलो चलचित्र हो । फिल्मको कथा पनि उनैले लेखेका हुन् । चलचित्रमा दयाहाङसँगै सिर्जना निङलेखु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय छ ।
‘कार्साङ’ यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको संयुक्त ब्यानरमा निर्माण भएको हो । पुरुषोत्तम प्रधान यस चलचित्रका छायाकार तथा निर्माता हुन् ।