काठमाडौं – नेपाली चलचित्र उद्योगका चर्चित अभिनेता राजबल्लभ कोइरालाको व्यक्तित्वमा नयाँ आयाम थपिँदैछ । चलचित्रमा सफल यात्रा गरेपछि अब उनी साहित्यिक कृतिका साथ सार्वजनिक हुन लागेका छन् । साहित्यमा विशेष रुचि राख्ने कोइरालाले फुटकर कविता लेख्दै आएका थिए, जसलाई अब पहिलो कृति स्वरूप कवितासङ्ग्रह ‘औरा’ का रूपमा प्रकाशन गरिने भएको छ ।
“कविताहरू सबै प्रकारका छन् । विशेष गरी विभिन्न परिवेश र अवस्थाका मानवीय भोगाइ तथा संवेदनाहरूलाई समेटेका छन् । जीवन तत्त्व र मानवीय संवेदनाहरूको विचार मन्थनको रूपमा मैले यो संग्रहलाई लिएको छु । यी कविताहरू पढ्दा निकै आफ्नोपन महसुस हुन्छ भन्ने विश्वास छ । मेरा कविता पछ्याउनेहरूले कतै कतै पढेको जस्तो पनि लाग्न सक्छ,” कोइरालाले सङ्ग्रहबारे भने ।
‘औरा’ सङ्ग्रहलाई साहित्यपोस्ट डटकमले प्रकाशन गर्नेछ । १०० भन्दा बढी कविताहरू समावेश गरिएको यो सङ्ग्रहको प्रकाशन मिति भने अझै तय भएको छैन । तर, चाँडै नै पाठकहरूसमक्ष आउने तयारी भइरहेको छ । यसका लागि आवरण कलाकार चिराग बाङ्देलले डिजाइन तयार गरेका छन् । ‘औरा’ राजबल्लभको छोरीको नाम पनि हो, जसले सङ्ग्रहलाई थप विशेष बनाएको छ ।
राजबल्लभको करियरको सुरुवात पोखराको एफएम रेडियोबाट भएको थियो । त्यसपछि काठमाडौंमा आयोजित एक अभिनय प्रतियोगितामा जित हात पार्दै उनले सन् २००७ मा चलचित्र ‘पर्खी बसेँ’ बाट अभिनय यात्रा थालेका थिए । ९ वर्षको करियरमा करिब तीन दर्जन चलचित्रमा अभिनय गरेका कोइरालाले लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका थिए ।
अब उनी करिब १० वर्षपछि नयाँ चलचित्र ‘एक्टर: टेक वन’ मार्फत अभिनयमा पुनः फर्किन लागेका छन् । आगामी माघ १६ गते प्रदर्शनमा आउने यस चलचित्रबाट कोइरालाले ‘कम ब्याक’ गर्ने योजना बनाएका छन् ।
साहित्य र अभिनयको सङ्गमले राजबल्लभ कोइरालालाई बहु आयामिक प्रतिभाका रूपमा स्थापित गर्ने विश्वास लिइएको छ ।