काठमाडौं – चलचित्र विकास बोर्डको आयोजनामा ५ दिने ‘फिल्ममेकिङ मास्टरक्लास’ सम्पन्न भएको छ । कार्यक्रममा ५८ जना चलचित्रका विद्यार्थी र चलचित्रकर्मीहरूको सक्रिय सहभागिता थियो ।
मास्टरक्लासको अन्तिम दिन सहभागीहरूलाई ७ समूहमा: फेम चेजर्स, टिम यूनिटी, टिम लायन, रोरिङ ईगल, सिक्स बडिज, टिम शून्य, र ऱ्यान्डम क्रियटर्शमा विभाजित गरी २४ घण्टाभित्र लघु चलचित्र निर्माणको चुनौती दिइएको थियो । ती चलचित्रहरू प्रतिस्पर्धात्मक रूपमा चलचित्र विकास बोर्डको प्रेक्षालयमा प्रदर्शन गरिएको थियो ।
अस्ट्रेलियामा चलचित्रमा स्नातकोत्तर गरेका सरोज कुमार चौहानले मास्टरक्लासको नेतृत्व गरेका थिए । कार्यक्रममा अङ्ग्रेजी र अन्य विदेशी चलचित्र सरह दृश्य सोच तथा उत्पादन गर्न सक्ने क्षमताको विकास गर्ने उद्देश्यले प्रशिक्षण प्रदान गरिएको थियो ।
फिल्ममेकिङ प्रतिस्पर्धाको निर्णायक मण्डलमा पूर्णेन्दु झा, दीपेन्द्र गौचन, सुशन प्रजापति, र गौतम धिमाल रहेका थिए । निर्णायकहरूको मूल्याङ्कनमा टिम सिक्स बडिजले निर्माण गरेको चलचित्र ‘सिगरेट’ उत्कृष्ट घोषित भयो । यो चलचित्रले अभिनय, निर्देशन, कला, स्क्रिप्ट, र प्रोडक्सनतर्फ सबै अवार्ड जित्दै उच्च स्थान हासिल गर्न सफल भयो । चलचित्रको कथा निर्देशन आर.डी. लामाले गरेका थिए ।
त्यस्तै, टिम युनिटीले निर्माण गरेको चलचित्र ‘गिल्टी’ले साउन्ड, छायाङ्कन, र सम्पादनतर्फ उत्कृष्ट अवार्ड प्राप्त गर्यो ।
चलचित्र विकास बोर्डको प्रेक्षालयमा आयोजित समापन कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डिसीले सहभागीहरूलाई प्रमाणपत्र र विजेताहरूलाई अवार्ड प्रदान गरे ।
कार्यशालाको सम्पूर्ण प्रक्रिया भैसेपाटीस्थित सिनेपाल स्टुडियोमा सञ्चालन गरिएको थियो ।