भारतीय अभिनेता जोन अब्राहमद्वारा नेपाली संस्कृति मन्त्रीलाई चिठी, हात्ती महोत्सव रोक्न आग्रह



काठमाडौं – भारतीय अभिनेता तथा चलचित्र निर्माता जोन अब्राहमले नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई चितवन हात्ती महोत्सवमा हात्तीहरूमाथि भइरहेको दुर्व्यवहार अन्त्य गर्न आग्रह गर्दै चिठी लेखेका छन् । महोत्सवमा हात्तीलाई बलपूर्वक आज्ञाकारी बनाउने, दौड, सवारी, पोलो र फुटबल खेल्न बाध्य बनाउने कार्यले उनीलाई दुःखित तुल्याएको उल्लेख गरेका छन् ।

अब्राहमले आफ्नो चिठीमा लेखेका छन्, “नेपाल मेरो निकै मन पर्ने देश हो । यही कारणले मैले यो विषयमा तपाईँलाई सम्पर्क गर्ने निर्णय गरेको हुँ । यस्ता कार्यक्रमहरूले केहीका लागि परम्परा र आकर्षण हुन सक्छ, तर यसले हात्तीहरूमा पार्ने असरप्रति आफ्नो गम्भीर चिन्ता व्यक्त गर्न चाहन्छु । ती संवेदनशील र बुद्धिमान जनावरहरूले यस्ता खेलकुदका क्रममा शारीरिक र मानसिक रूपमा ठूलो पीडा सहनुपर्छ । ती कार्यक्रमका लागि उनीहरूलाई कठोर प्रशिक्षण र कष्टकर अवस्थाबाट गुजारिन्छ, जुन कुनै पनि जीवित प्राणीले सहनु पर्ने कुरा होइन ।”

उनले थप भनेका छन्, “हात्तीहरू शक्ति, अनुग्रह र ज्ञानको प्रतीक हुन् । उनीहरू राष्ट्रिय सम्पत्ति हुन्, र नेपालले संसारलाई यस्ता अनुपम जनावरहरूलाई सम्मान र संरक्षण गर्न नेतृत्वदायी भूमिका खेल्न सक्छ ।”

अब्राहमले मन्त्री पाण्डेलाई चिठीको अन्त्यमा हात्ती खेलकुद कार्यक्रमलाई रद्द गर्न र परम्परालाई मानवता तथा जीवजन्तुप्रतिको सम्मान झल्कने दिशातर्फ विकास गर्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्, “नेपाल मेरो हृदयमा विशेष स्थान राख्ने देश हो । यसको उज्ज्वल भविष्य मानिस, वन्यजन्तु र प्राकृतिक सौन्दर्यको सम्मानमा आधारित निर्णयहरूद्वारा सुनिश्चित हुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु ।”

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu