काठमाडौं – नेपाली चलचित्र ‘झिल्को’को रिलिज मिति घोषणा गरिएको छ । बालबालिकामा बढ्दो डिजिटल दुर्व्यसनको गम्भीर विषयलाई उजागर गरिएको यो चलचित्र आगामी वैशाख १९ गते रिलिज हुनेछ ।
पहिले ५ पुसमा रिलिज भनिएको यो चलचित्रको केही दृश्यहरूको छायाङ्कन र पोस्ट प्रोडक्सनका कामहरू बाँकी रहेकाले रिलिज मिति वैशाखमा पुर्याइएको निर्देशक यादवकुमार भट्टराईले बताए ।
‘झिल्को’ले मोबाइलको अत्यधिक प्रयोगका कारण बालबालिकामा देखिने समस्या र त्यसले परिवार तथा समाजमा पार्ने असरलाई चित्रण गर्दछ । निर्देशक भट्टराईका अनुसार यो चलचित्र बालबालिका देखि युवापुस्ता र ज्येष्ठ नागरिकसम्म सबैलाई लक्षित गरी बनाइएको छ । उनले यो फिल्मलाई बाल मनोविज्ञानमा आधारित पारिवारिक चलचित्रको रूपमा वर्णन गरेका छन् ।
चलचित्रमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल जस्ता कलाकारहरूको अभिनय रहेको छ ।
सुशीला आचार्य र रामगोपाल थापा यस चलचित्रका निर्माता हुन् भने उमेश पौडेल कार्यकारी निर्माता रहेका छन् । दीपक बज्राचार्यले छायाङ्कन गरेका छन् भने चण्डीप्रसाद काफ्ले र दीपक शर्माले सङ्गीत दिएका छन् । निमेश श्रेष्ठले सम्पादन गरेका हुन् ।
निर्देशक भट्टराईले “झोला” र “भोर” जस्ता चलचित्रहरू निर्देशन गरिसकेका छन् ।