‘पिताम्बर’ चैत २९ गते रिलिज हुने, आकर्षक पोस्टर सार्वजनिक



काठमाडौं – कृषा चौलागाईं निर्देशित नेपाली चलचित्र ‘पिताम्बर’को रिलिज मिति घोषणा गरिएको छ । शुक्रवार सार्वजनिक गरिएको पोस्टर अनुसार चलचित्र चैत २९ गते, नेपाली नयाँ वर्षको अवसरमा प्रदर्शन हुने भएको हो ।

७० दिनको छायाङ्कनपछि बनेको ‘पिताम्बर’लाई निर्देशक चौलागाईंले आफ्नो ड्रिम प्रोजेक्ट भनेकी छन् । सार्वजनिक गरिएको पोस्टरले फिल्म एक्सन प्रधान रहेको सङ्केत गरेको छ । प्रदीप खड्का, सौगात मल्ल र दयाहाङ राई मुख्य भूमिकामा रहेको फिल्ममा तीनै कलाकारलाई आक्रामक रूपमा प्रस्तुत गरिएको छ ।

पोस्टरमा देखाइएका तीन मुख्य पात्रहरूमा प्रत्येकको अलग विशेषता र कथासँग सम्बन्धित भूमिकाको झलक देखाइएको छ । दायाँतर्फ देखिएको मुख्य पात्रको अनुहार रगतले लतपतिएको छ, जसले उसको कठोर यात्रा, प्रतिशोध, वा जीवनको गहिरो द्वन्द्वको सङ्केत गर्छ । यो पात्रको क्रोधित आँखा र तीव्र अभिव्यक्तिले कथाको गम्भीरता र त्यसमा रहेको चुनौतीलाई झल्काउँछ ।

मध्य भागमा देखाइएको पात्रले हातमा बन्दुक समातेको छ, जसले द्वन्द्व र शक्ति प्रदर्शनको सङ्केत गर्दछ । यो पात्रले फिल्ममा बलियो प्रतिरोध गर्ने व्यक्तित्वको भूमिका खेल्न सक्ने सम्भावना देखिन्छ । यो दृश्यले दर्शकलाई कथा सङ्घर्षपूर्ण र चुनौतीपूर्ण हुने सङ्केत गर्छ ।

तेस्रो पात्र, जो प्रहरीको पोसाकमा देखिन्छ, न्याय र कानुनको प्रतिनिधित्व गर्दै कथा छेउमा रहेको वैधानिक पक्षलाई बल दिन्छ ।

पृष्ठभूमिमा जलेको घर र अराजक दृश्यले कथाको विनाश र द्वन्द्वको प्रमुख पाटोलाई प्रस्ट्याउँछ । यस्तो दृश्यले दर्शकलाई चलचित्रको कथा केवल व्यक्तिगत सङ्घर्षमा सीमित नभई सामाजिक र सामूहिक प्रभावमा आधारित छ भन्ने आभास दिन्छ ।

‘पिताम्बर’मा प्रदीप, सौगात र दयाहाङसँगै दिव्या रायमाझी, अनुप विक्रम शाही, सुरक्षा पन्तलगायतका कलाकारको अभिनय रहेको छ । गत वर्ष चैत्रमा नवलपरासीको त्रिवेणी धाममा छायाङ्कन सुरु भएको फिल्मको बजेट ५ करोड अनुमान गरिएको छ ।

यसअघि ‘ऐँचो पैँचो’ चलचित्र निर्देशन गरेकी कृषाले ‘पिताम्बर’लाई दर्शकले रुचाउने अपेक्षा गरेकी छन् । पुरुषोत्तम प्रधानले खिचेको फिल्मको लेखन प्रदीप भारद्वाजले गरेका हुन् भने हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।

चलचित्रका निर्माता विशाल चौलागाईं हुन् भने सह निर्माता पुरुषोत्तम प्रधान र कार्यकारी निर्माता सुमन गौतम हुन् । यो चलचित्र आरआर फिल्म्सले वितरण गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu