पूर्ण बहादुरको सारङ्गी: ३८ हलमा प्रदर्शनको ५१ दिन, विश्वव्यापी कमाइ ७२ करोड नाघ्यो



काठमाडौं – नेपाली चलचित्र क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्दै ‘पूर्ण बहादुरको सारङ्गी’ले लगातार सफलता हात पारेको छ । शुक्रवार यो चलचित्रले देशभरका ३८ वटा हलमा प्रदर्शनको ५१ औँ दिन मनाउँदै नयाँ इतिहास रचेको छ । यसअघि कुनै पनि नेपाली चलचित्रले यति धेरै हलमा यति लामो समयसम्म प्रदर्शन जारी राखेको थिएन ।

वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार ‘पूर्ण बहादुरको सारङ्गी’ले ४२ दिनसम्म देशव्यापी ४९ करोड २५ लाख रुपैयाँको व्यापार गरिसकेको छ । ५१ औँ दिनसम्मको कुल कमाइको विवरण भने शुक्रवार सार्वजनिक हुने बताइएको छ ।

यसै गरी, निर्माता कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले २९ नोभेम्बरसम्मको अन्तर्राष्ट्रिय बजारको कमाइ सार्वजनिक गरेको थियो । सात विदेशी बजारबाट चलचित्रले सो अवधिसम्म २३ करोड ३५ लाख रुपैयाँ ग्रस कमाएको थियो ।

नेपाल र विदेशको बक्स अफिसको कमाइ जोड्दा ‘पूर्ण बहादुरको सारङ्गी’को विश्वव्यापी कलेक्सन अहिलेसम्म ७२ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

सरोज पौडेल निर्देशित यस चलचित्रले बाबुछोराको मार्मिक सम्बन्धलाई पर्दामा उतारेको छ । विजय बराल, अञ्जना बराइली, प्रकाश सपुत, मुकुन भुसाल, बुद्धि तामाङ, बाल कलाकार स्वयं केसी लगायतको अभिनय रहेको यस चलचित्रको पटकथा तथा संवाद लेखन महेश दवाडीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu