काठमाडौं – नेपाली चलचित्रका लागि ऐतिहासिक मानिएको ‘शाम्बाला’ चलचित्र ९७ औँ अस्कर अवार्डको ‘अन्तर्राष्ट्रिय फिचर चलचित्र विधा’को सर्ट लिस्टमा पर्न सकेन । बुधवार बिहान ‘एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेज’ले सार्वजनिक गरेको सर्ट लिस्ट सूचीमा ‘शाम्बाला’ छैन ।
मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’ ले यसअघि बर्लिन् अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएर नेपाली चलचित्रको शिर उच्च राखेको थियो । यसैले अस्करमा पनि सफलता पाउने अपेक्षा गरिएको थियो । तर, अन्ततः सपना अधुरै रह्यो ।
‘शाम्बाला’ सहित ८५ देशका चलचित्रले अस्करका लागि प्रतिस्पर्धा गरेका थिए । समग्र एसियाली देशहरूका लागि समेत यस वर्षको अस्कर निराशा छाएको छ । यस पटकको सर्ट लिस्टमा एसियाबाट थाइल्यान्डको ‘हाउ टु मेक मिलियन्स बिफोर ग्रान्डमा डाइज’ मात्रै छनोट भएको छ । अपेक्षा गरिएको भारतको ‘लापता लेडिज’, चीन, दक्षिण कोरिया, जापानलगायतका देशका चलचित्र पनि प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
अस्कर जित्नु आफैँमा निकै कठिन कार्य हो । हजारौँ चलचित्रहरूमध्येबाट छानिएर आउने सयौँ चलचित्रमध्ये पनि अन्तिम पाँचमा पर्न सजिलो हुँदैन । नेपाली चलचित्रले अस्करको यात्रामा धेरै प्रयास गरे पनि अहिलेसम्म सफल हुन सकेको छैन ।
अस्करको ९७ औँ संस्करणका लागि अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा १५ वटा चलचित्र सर्ट लिस्टमा परे । यी चलचित्रहरूमा ब्राजिलको “आइएम स्टिल हेयर”, क्यानडाको “युनिभर्सल ल्यांग्वेज”, चेक रिपब्लिकको “वेभ्स”, डेनमार्कको “द गर्ल विथ द निडल”, फ्रान्सको “इमिलिया पेरेज”, जर्मनीको “द सिड अफ द सेक्रेड फिग”, आइसल्याण्डको “टच”, आयरल्याण्डको “निक्याप”, इटालीको “वर्मिग्लियो”, लात्भियाको “फ्लो”, नर्वेको “आर्मन्ड”, प्यालेस्टाइनको “फ्रम ग्राउन्ड जिरो”, सेनेगलको “दाहोमे”, थाइल्यान्डको “हाउ टु मेक मिलियन्स बिफोर ग्रान्डमा डाइज” र बेलायतको “सन्तोष” रहेको छ ।