काठमाडौं – विनय श्रेष्ठ र सुपुष्पा भट्ट अभिनीत चलचित्र ‘फेरी रेशम फिलिली’ आगामी फागुन १४ गतेबाट देशभर प्रदर्शन हुने भएको छ ।
९ वर्षअघि प्रदर्शन भएको चलचित्र ‘रेशम फिलिली’को सिक्वेलका रूपमा निर्माण भएको यस चलचित्रले महाशिवरात्रिको अवसर पारेर दर्शकमाझ आउन लागेको हो । आइतबार सार्वजनिक गरिएको चलचित्रको पोस्टरमा विनय श्रेष्ठ पुरानै लुक्समा देखिएका छन् भने सुपुष्पा भट्टले मुस्कुराउँदै हातमा रातो गुलाब लिएकी छन् । यो पोस्टरको डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गरेका हुन् ।
निरोज महर्जनको निर्देशनमा बनेको यस चलचित्रमा विनय र सुपुष्पासँगै नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा सुसन प्रजापतिको छायाङ्कन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी लगायतका सङ्गीतकारहरूको सङ्गीत रहेको छ ।
पहिलो भागमा विनयको जोडी अभिनेत्री मेनुका प्रधानसँग बाँधिएको थियो । तर, दोस्रो भागमा मेनुकाको सट्टा सुपुष्पालाई लिएर आएको छ । पोस्टरले विनय र सुपुष्पाबीचको प्रेम कथातर्फ इङ्गित गरेको छ ।
सिनेमा आर्ट्सको प्रस्तुति र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको यस चलचित्रलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछ ।