काठमाडौं – चलचित्र विकास बोर्डले आयोजना गरेको ५ दिने ‘फिल्ममेकिङ मास्टरक्लास’ शुक्रवारदेखि सुरु भएको छ । ५४ जना चलचित्रका विद्यार्थी तथा चलचित्रकर्मीहरूको सक्रिय सहभागिता रहेको यस मास्टरक्लासको मुख्य उद्देश्य नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आवश्यक पर्ने दृश्य सोच र उत्पादन क्षमता अभिवृद्धि गर्नु हो ।
अस्ट्रेलियाबाट फिल्ममा स्नातकोत्तर गरेका सरोज कुमार चौहानको नेतृत्वमा सञ्चालित यस कार्यशालाले फिल्म निर्माणमा रुचि राख्नेहरूलाई हलिउड स्तरको फिल्म निर्माणका विभिन्न आयामहरू सिकाउने लक्ष्य राखेको छ । प्रत्यक्ष फिल्म निर्माण प्रदर्शन र ह्यान्ड्स-अन अभ्यासहरू मार्फत सहभागीहरूले सिनेम्याटोग्राफी, प्रकाश, कला डिजाइन, स्टेजिङ र निर्देशन जस्ता महत्त्वपूर्ण पक्षहरूको प्रयोग गरी कसरी हलिउड जस्तो फिल्म लुक सिर्जना गर्ने भन्ने बारेमा व्यावहारिक ज्ञान हासिल गर्ने अवसर पाउनेछन् ।
सिनेपाल स्टुडियो, भैसेपाटीमा सञ्चालन भइरहेको यस कार्यक्रमको समापन पौष ५ गते हुनेछ । समापन कार्यक्रममा सहभागीहरूले निर्माण गरेका लघु चलचित्रहरू प्रदर्शन गरिनेछ ।