काठमाडौं – निर्देशक वसन्त निरौलाको अर्को नयाँ चलचित्र ‘दशमी’ निर्माणको घोषणा भएको छ । भक्तपुरको सुर्यविनायक गणेशस्थान मन्दिरमा गरिएको एक विशेष कार्यक्रममा चलचित्रको स्क्रिप्ट पूजा गरी औपचारिक घोषणा गरिएको हो ।
रेड आई फिल्म्स र रोमन फिल्म्सको संयुक्त ब्यानरमा निर्माण हुने यस चलचित्रमा राजकुमार पण्डित निर्माता रहनेछन् । दिलीप रानाभाटले लेखेको यस चलचित्रका अन्य निर्माताहरूमा राजाराम बुढाथोकी, समीर पण्डित, सौगात पण्डित, पदम तामाङ र भीमप्रसाद आचार्य रहेका छन् । विजय बस्याल कार्यकारी निर्माता रहँदा दिलीप पन्त प्रोडक्शन म्यानेजरको जिम्मेवारीमा छन् ।
चलचित्रको नाम घोषणा गरिए पनि कलाकारको नाम भने अझै सार्वजनिक गरिएको छैन । निर्देशक निरौलाका अनुसार चलचित्र आगामी दसैँको फूलपातीका दिन रिलिज हुनेछ ।
यस चलचित्रमा निर्देशक निरौलाको अघिल्लो सफल चलचित्र ‘ज्वाइँ साब’को अधिकांश टिम पुनर्मिलन भएको छ । दसैँमा रिलिज भएको ‘ज्वाइँ साब’ले सहज रूपमा लगानी सुरक्षित गरेको थियो ।