काठमाडौं – ‘पुष्पा-२’ चलचित्रको प्रिमियरको समय भागदौड हुँदा एक महिलाको मृत्यु भएको घटनामा संलग्न भनी पक्राउ परेका अभिनेता अल्लू अर्जुनलाई भारतको तेलंगाना उच्च अदालतले जमानत दिएको छ । यसअघि हैदराबादको अदालतले उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाएको थियो ।
शुक्रवार बिहान आफ्नै घरबाट पक्राउ परेका अर्जुनलाई दिउँसो १२ बजे पक्राउ गरिएको थियो । त्यसपछि ४ बजे स्थानीय अदालतमा पेस गरिएको थियो जहाँ उनलाई न्यायिक हिरासतमा पठाइएको थियो । त्यसपछि अभिनेताले उच्च अदालतमा अपिल गरेका थिए । ५ बजे उच्च अदालतले उनलाई जमानत दिएको भारतीय मिडियाहरूले जनाएका छन् ।
अल्लूमाथि ४ डिसेम्बरमा हैदराबादको सन्ध्या थिएटरमा बिना सूचना पुगेको र त्यसले गर्दा भीड बढेको र अप्रिय घटना भएको आरोप लगाइएको छ । यस घटनामा एक महिलाको मृत्युसँगै धेरै मानिस घाइते भएका थिए ।
उच्च अदालतमा अल्लूका वकिलले शाहरुख खानको चलचित्र ‘रइस’को मुद्दाको उदाहरण दिएका थिए । उनले भने, “गुजरातमा प्रमोसनको क्रममा खानले भीडमाथि टिसर्ट फालेका थिए । त्यसपछि भिडन्त भएको थियो । यस घटनामा खानमाथि असावधानीपूर्वक हत्याको आरोप लगाइएको थियो ।” वकिलले भने कि गुजरात उच्च अदालत र सर्वोच्च अदालतले शाहरुखलाई राहत दिएका थिए ।
अल्लू अर्जुनले आफ्नो पक्राउको तरिकामा आपत्ति जनाएका छन् । अभिनेताले दाबी गरेका छन् कि प्रहरीले नास्ता खान दिएन। लुगा पनि फेर्न दिएन ।
पक्राउको क्रममा रहेको समयको एक भिडियोमा अभिनेता घरबाट तल झरेर पार्किङमा आउँदै गरेको देखिन्छ । त्यहाँ कोही दौडेर आउँछ र चिया र पानी दिन्छ । उनी भिडियोमा चिया पिउँदै गरेको देखिन्छ । यस क्रममा उनकी पत्नी स्नेहा रेड्डी देखिन्छिन् । अल्लूले पत्नीलाई सम्झाउँछन् । त्यसपछि प्रहरी उनीलाई आफूसँगै लैजान्छ ।