अल्लू अर्जुन १४ दिनको न्यायिक हिरासतमा, प्रहरीले खाजा खान र लुगा फेर्न नदिएको अल्लूको दाबी



काठमाडौं – ‘पुष्पा २’को प्रिमियर शोमा भएको भिडन्तमा एक महिलाको मृत्यु भएको घटनामा अभिनेता अल्लू अर्जुनलाई हैदराबादको अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको छ । शुक्रवार बिहान उनलाई घरबाट पक्राउ गरी दिउँसो ४ बजे अदालतमा पेस गरिएको थियो ।

अन्तर्राष्ट्रिय मिडियाहरूमा प्रकाशित खबरअनुसार अल्लूमाथि ४ डिसेम्बरमा हैदराबादको सन्ध्या थिएटरमा बिना सूचना पुगेको र त्यसले गर्दा भिड बढेर भागाभाग मच्चिएको आरोप लगाइएको छ । यस घटनामा धेरै मानिस घाइते भएका थिए ।

यस घटनापछि अधिकारीहरूले सन्ध्या थिएटर व्यवस्थापन, अल्लू अर्जुन र उनको सुरक्षा टोलीविरुद्ध मुद्दा दर्ता गरेका थिए । यद्यपि, अल्लूले उच्च अदालतमा एफआईआर खारेज गर्न अपिल गरेका छन् र यसमा सुनुवाइ जारी छ ।

महिलाको मृत्युप्रति अल्लू र उनको टोलीले दुःख व्यक्त गरेका छन् । अल्लूले मृतकको परिवारलाई २५ लाख रुपैयाँ सहयोग गर्ने वाचा गरेका छन् र उनीहरूसँग भेट्ने पनि बताएका छन् । पीडित पक्षले पनि मुद्दा फिर्ता लिन चाहेको भारतीय मिडिया खबर प्रकाशित छन् ।

प्रहरीले पक्राउ गर्दा खाजा खान र लुगा फेर्न नदिएको अल्लूको दाबी छ । एक भिडियोमा उनी आफ्नो घरबाट निस्कँदै गर्दा उनले चिया लिन खोजेको देखिन्छ ।

पुलिसले अल्लूलाई घरबाट हिरासतमा लिएर बयान लिएको थियो । त्यसपछि उनलाई मेडिकल जाँचका लागि अस्पताल लगिएको थियो । अल्लूविरुद्ध भारतीय दण्ड संहिताको धारा १०५ र ११८ (१) अन्तर्गत मुद्दा दर्ता गरिएको छ । यो गैरजमानती धारा हो । अल्लूका निजी अङ्गरक्षक सन्तोषलाई पनि पक्राउ गरिएको छ ।

थिएटर व्यवस्थापनले भने प्रिमियरमा अल्लू आउने जानकारी दुई दिनअघि नै प्रहरीलाई दिएको दाबी गरेको छ ।

४ डिसेम्बरमा अल्लू अर्जुन बिना सूचना सन्ध्या थिएटरमा पुगेको बताइन्छ, जसकारण फ्यानहरूमा उत्साह बढेको र थिएटरमा भिड लागेको थियो । भिड नियन्त्रण गर्न प्रहरीले हल्का लाठीचार्ज गर्नुपरेको थियो । यस क्रममा एक महिलाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu