दक्षिण भारतीय सुपरस्टार अल्लू अर्जुनलाई हालै प्रहरीले पक्राउ गरेको छ। उनको बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २: द रुल’को प्रिमियर शोमा भएको दर्दनाक घटनाका कारण उनलाई पक्राउ गरिएको हो।
डिसेम्बर ४ मा, हैदराबादको सन्ध्या थिएटरमा प्रिमियर शो आयोजना भइरहँदा अल्लू अर्जुनको आगमनको खबरले उत्साहित प्रशंसकहरूको भीड अनियन्त्रित भएको थियो। भीडको उन्मादले थिएटरमा ठूलो भागदौड मच्चिँदा ३५ वर्षीया रेवती र उनका १३ वर्षीय छोरा श्री तेज गम्भीर घाइते भएका थिए। उनीहरूलाई तत्काल अस्पताल लगिएको भए पनि रेवतीको निधन भयो भने उनका छोराको अवस्था अझै गम्भीर छ।
भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार रेवतीका पतिको उजुरीका आधारमा प्रहरीले अल्लू अर्जुन, उनको सुरक्षा टोली र थिएटर व्यवस्थापनविरुद्ध हत्या र लापरबाहीको मुद्दा दर्ता गरेको छ। थिएटर व्यवस्थापनले भीड नियन्त्रणका लागि पर्याप्त सुरक्षा व्यवस्था मिलाएको थिएन र अल्लू अर्जुनको आगमनबारे पूर्व सूचना नदिएका कारण यस्तो दुर्घटना भएको आरोप मुद्दामा रहेको छ।
सो घटनापछि अल्लू अर्जुनले दुःख व्यक्त गर्दै मृतक परिवारलाई २५ लाख रुपैयाँ सहयोग प्रदान गरेका थिए र उनीहरूलाई भेट्न जाने आश्वासन दिएका थिए।