काठमाडौं – चाबहिलस्थित चलचित्र विकास बोर्डमा चार दिनसम्म चलेको १२ औँ नेपाल मानवअधिकार फिल्म फेस्टिभल–२०२४ सोमबार सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले उद्घाटन गरेको यो महोत्सवको समापन कार्यक्रममा माननीय ठाकुर गैरे प्रमुख अतिथि रहेका थिए ।
समापन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले लिम्बु संस्कृतिमा आधारित चलचित्र ‘नुमाफुङ’लाई डिजिटल बनाउने घोषणा गरेपछि दर्शक दीर्घा तालीको गडगडाहटले गुन्जिएको थियो । निर्देशक नवीन सुब्बाले यस घोषणालाई खुसीसाथ स्वीकार गरेका थिए । डिसीले ‘नुमाफुङ’सहित १० वटा चलचित्रलाई १६ एमएम रिलबाट डिजिटल फुल एचडी क्वालिटीमा रूपान्तरण गरेर अभिलेख राख्ने जानकारी दिए ।
नेपालसहित पाकिस्तान, बङ्गलादेश, भारत र युरोपका विभिन्न मुलुकका चलचित्रकर्मीहरूको सहभागिता रहेको यस महोत्सवमा २३ देशका ५३ वटा चलचित्र प्रदर्शन गरिएका थिए । मानवअधिकार चलचित्र केन्द्रले आयोजना गरेको यो कार्यक्रममा चलचित्र विकास बोर्डले सहकार्य गरेको थियो ।