काठमाडौं – अल्लु अर्जुन स्टारर भारतीय चलचित्र ‘पुष्पा २: द रुल’ले नेपाली बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । रिलिजको पहिलो सातामै यस चलचित्रले देशव्यापी १५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको बताइएको छ । योसँगै यस चलचित्रले पहिलो साताको कमाइको मामलामा नेपाली बक्स अफिसको नयाँ रेकर्ड कायम गरेको छ ।
बुझिएअनुसार नेपाली वितरकले झन्डै ७ करोड रुपैयाँमा फिल्मको वितरण अधिकार खरिद गरेका थिए । यो नेपाली सिनेमा इतिहासकै महँगो डिलमध्ये एक हो । यसले कुल २२ करोड रुपैयाँको ग्रस व्यापार गरेपछि मात्र सो रकम रिकभर हुन्छ । अहिलेसम्मको कमाइ हेर्दा उक्त व्यापार खासै टाढा देखिँदैन ।
‘पुष्पा २’ले विश्वव्यापी रूपमा पनि तहल्का मच्चाइरहेको छ । यसले रिलिजको पहिलो सातामै हजार करोड भारुभन्दा बढीको व्यापार गरिसकेको छ भने भारतमा मात्रै फिल्मले ६८७ करोड भारु नेट कमाइ गरेको छ ।