काठमाडौं – निर्देशक ऋषि लामिछानेले नयाँ चलचित्र बनाउने भएका छन् । यो चलचित्रको नाम ‘माग्ने राजा’ राखिएको छ । चलचित्रको निर्माण युनिटले सार्वजनिक गरेको पोस्टरमार्फत यो जानकारी दिइएको हो ।
‘माग्ने बुढा’को नामबाट चर्चित कलाकार केदार घिमिरेलाई मुख्य भूमिकामा लिएर यो चलचित्र निर्माण हुने भएको हो । मुनाल घिमिरेले यस चलचित्रलाई निर्माण गर्नेछन् । सामीप्यराज तिमल्सिनाले लेखेको यो चलचित्र एक कमेडी चलचित्र हुनेछ । चलचित्रको छायाङ्कन आगामी फागुन १ गतेबाट सुरु हुने तयारी छ ।
‘माग्ने राजा’ मार्फत निर्देशक ऋषि लामिछाने आठ वर्षपछि निर्देशनमा फर्किएका हुन् । पछिल्लो पटक उनले सन् २०१६ मा ‘किस्मत २’ निर्देशन गरेका थिए ।
‘माग्ने राजा’ शीर्षक लामो समयदेखि चर्चामा रहेको थियो । दुई वर्षअघि दीपकराज गिरी र दीपाश्री निरौलाले यो नाममा चलचित्र बनाउने तयारी गरेका थिए तर, यसैको स्क्रिप्टमा ‘छक्का पञ्जा ४’ बनाएका थिए । यद्यपि, उनीहरूले यही शीर्षकमा चलचित्र बनाउने तयारीमै रहेको बुझिएको थियो । तर, आधिकारिक रूपमा चलचित्र विकास बोर्डबाट निर्माण इजाजत नलिएकाले अब यो शीर्षक मुनाल घिमिरेको नाममा पुगेको हो ।