काठमाडौं – दसैँमा नेपाली चलचित्र रिलिज गर्ने होडबाजी देखिएको छ । दर्जन भन्दा धेरै चलचित्रहरूले दसैँ ताकिरहेको बेला ‘जेरी अन टप’का निर्माता सरोज न्यौपानेले नयाँ चलचित्र ‘फन फनी घुमेर’ निर्माण र रिलिज घोषणा गरेका छन् ।
‘फन फनी घुमेर’ अनन्या फिल्म्सको प्रस्तुतिमा भविष्य खड्कासँगको सहकार्यमा निर्माण हुनेछ । कलाकार, निर्देशक र प्राविधिक टिम भने अझै तय भएको छैन । निर्माण पक्षले यो चलचित्र आगामी वर्षको दसैँमा रिलिज गर्ने लक्ष्य लिएको छ ।
सरोज न्यौपाने हाल ‘जेरी अन टप’को छायाङ्कनमा व्यस्त छन् र यो चलचित्र आगामी जेठमा रिलिज गर्ने तयारीमा छन् । नयाँ चलचित्र घोषणा गर्दै उनले दसैँमा रिलिज हुने चलचित्रको सङ्ख्या थप बढाएका छन् ।